लघुकथा – आँखी झ्याल

उद्धवप्रसाद प्याकुरेल

‘उदास, तिमी जहिले पनि टोलाएर कतै केही हेरिरहेको देख्छु । के हर्दै छौ एकोहोरो भन त ।’ प्रियसीले उदासलाई झकझकाउँदै भनिन् । उदासको मौनता भंग भयो । ‘म टोलाएको कहाँ हो र प्रियसी ! तिमी खाली नचाहिँदो कुरा गछ्र्याै । टोलाउनु र चिन्तन गर्नु फरक कुरा हुन् बुझ्यौ ?’ उदासले आफ्नो कुमबाट प्रियसीको दुवै हात हटाउँदै भने । मायाले समातिएको कुमबाट आफ्ना हात एक्कासि हटेकोमा प्रियसीको मनमा हल्का खिन्नताको झस्का नपसेको हैन तैपनि उनले पचाउँदै सोधिन्, ‘जब–जब म तिमीलाई देख्छु तिम्रा आँखा मेरो माइतीको आँखी झ्यालमा हुन्छ किन ?’ ‘मैले तिम्रो माइतीको आँखी झ्याल हेर्नुहुन्न र प्रियसी ?’

पहिला त मेरो कारणले हेरेका थियौ । अब म तिमीसँगै छु त ! ‘मलाई त कता–कता शंका पो लाग्न थाल्यो । तिम्रो रातदिनको त्यही आँखी झ्याल हेराइले म फसेँ । कतै जवानीले रंग चढेकी मेरी बहिनी पनि फस्ने त हैन !’ प्रियसीले निन्याउरो अनुहार लगाउँदै भनिन् ।

‘वा प्रियसी तिमीले मसँग विवाह गर्नुको रहस्य बल्ल बुझेँ । म एउटा शिल्पकार हुँ । मैले तिमीलाई फसाउने ध्येय कहिल्यै राखेको थिइनँ । मैले त तिम्रो माइतीघरको आँखी झ्यालको उत्कृष्ट कला नियालिरहेको थिएँ । शिल्पकारले एउटा विचित्रको आँखी झ्याललाई आफ्नो मस्तिष्कको भित्तामा कैद गर्न खोज्दा तिमी जस्ती उच्च खानदानकी सुन्दरी फसिछ्यौ । तिम्री बहिनीलाई छिट्टै भन, ‘भिनाजुले तिमीलाई हेरेको हैन आँखी झ्याल हेरेको भनेर । नत्र !’

प्रतिक्रिया