पत्रकार ‘चाचाजी’ को वृत्तचित्र प्रर्दशन हुँदै

बाँके । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’ को जीवनमा आधारित बृत्तचित्र नेपालगञ्जमा प्रर्दशन गरिने भएको छ । पत्रकार सन्तोष रेग्मीद्वारा निर्देशित उक्त वृत्तचित्र माघ १५ गते प्रर्दशन गरिने भएको हो ।  नेपालगञ्ज निवासी वरिष्ठ पत्रकार ‘चाचाजी’ नेपाल प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष हुनुहुन्छ । विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशित हुदै आएको स्थानीय किरण साप्ताहिकका प्रकाशक र सम्पादक समेत रहनु भएका ९० वर्षिय गुप्तको विशेष आग्रहमा युनियनले उक्त वृत्तचित्र प्रर्दशन गर्ने निर्णय गरेको अध्यक्ष जयनारायण शाहले बताए ।

वृत्तचित्र प्रर्दशनी गरेर संकलन भएको रकम ‘पन्नालाल गुप्त पत्रकारिता पुरस्कार कोष’ मा जम्मा गरिने उनले जानकारी दिए । वृत्तचित्र प्रर्दशनीका लागि युनियन बाँकेको कार्यसमिति बैठकले शुक्रबार एक तयारी समिति गठन गरेको छ । युनियनका केन्द्रयी सदस्य जयसिंह केसीको संयोजकत्वमा समिति गठन गरिएको हो ।

उक्त बैठकमा विशेष आमन्त्रित रहेका युनियनका केन्द्रयी उप(महासचिव प्रेम केसीले पत्रकारितामै आफ्नो जीवन समर्पित गर्नु भएका प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’ को वृत्तचित्र अवलोकन गर्न पाउनु बाँकेवासीका लागि महत्वपूर्ण अवसर भएको बताए । वृत्तचित्र प्रर्दशनी कार्यक्रमलाई भब्य रुपले सम्पन्न गर्न युनियनले कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए ।

युनियनका केन्द्रीय सदस्य एवं तयारी समितिका संयोजक जयसिंह केसीले वृतचित्र अवलोकनका लागि सरकारी तथा गैर सरकारी निकाय, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाज, साहित्यकार, कलाकार, प्राध्यापक, विद्यार्थी, सर्वसाधारण सबैलाई निम्तो बाँडिने बताए ।

वृतचित्रका निर्देशक सन्तोष रेग्मीले चाचाजीको सम्मानका साथै पत्रकारितामा उहाँको योगदानबारे समाजलाई सुसुचित गर्न वृतचित्र निर्माण गरेको प्रष्ट्याए । ‘चाचाजीको योगदानबारे समाजलाई सुसुचित गर्ने सानो प्रयास गरेको हुँ,’ उनले भने ।

युनियन बाँकेका सचिव अर्जुन ओलीले ‘चाचाजी’ को वृतचित्रले नेपाली पत्रकारिताको इतिहासबारे समाजलाई सुसुचित गर्नुका साथै पत्रकारितामा आउन चाहने नयाँ पिढींका लागि प्रेरणाको स्रोत बन्ने विश्वास गरे । युनियन बाँकेको अधिवेशनको तयारी सँग–सँगै वृत्तचित्र प्रर्दशनीको तयारी गर्न लागिएको सचिव ओलीले बताए ।

प्रतिक्रिया