विराटनगरका मुख्य न्यायाधीश पनि छानबिनमा !

काठमाडौं । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका विषयमा दिएको आदेशका विषयमा न्याय परिषद्ले छानबिन सुरु गरेको छ । सो प्रकरणमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीशसमेत छानबिनको दायरामा तानिएका छन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलमाथि गोप्य रूपमा छानबिन थालिएको न्याय परिषद्का एक अधिकारीले जानकारी दिएका छन् ।

न्यायलयमा हुने अनियमितता अन्त्य गर्ने कदम चाल्ने बताएका प्रधानन्यायाधीश जबराले त्यसमा तीव्र रूपमा काम गर्न थालेका हुन् । प्रधानन्यायाधीश राणाकै निर्देशनमा न्याय परिषद् सचिवालयले मुख्य न्यायाधीश भुर्तेलमाथि पनि गोप्य रूपमा छानबिन सुरु गरेको हो । ‘तल्लोस्तरका न्यायाधीशमाथि अनुसन्धान हुँदा मुख्य न्यायाधीशको भूमिकाबारे पनि स्वाभाविक रूपमै प्रश्न उठ्छ,’ परिषद्का एक अधिकारीले भने, ‘प्रन्याज्यूकै निर्देशनमा अहिले मुख्य न्यायाधीश भुर्तेलको भूमिकाबारे पनि अनुसन्धान सुरु भएको छ ।’

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको अधिकांश आदेशलाई उच्च अदालतले उल्ट्याइदिएको थियो । जसका कारण ती आदेश दिने पाँचजना न्यायाधीशलाई अहिले न्याय परिषद्मा काजमा तानिएको छ । उनीहरूको ठाउँमा चार न्यायाधीशलाई सरुवा गरेर उच्च अदालत विराटनगर पठाइएको छ ।

न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थिरबहादुर कार्की, सारंगा सुवेदी, उमेशराज पौडेल र उमेशकुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषद्मा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि ५ जनालाई काजमा तानिएको हो ।

परिषद्ले उनीहरूको ठाउँमा उच्च अदालत पाटनका न्यायाधीश शेखरप्रसाद पौडेल तथा रामप्रसाद अधिकारी, उच्च अदालत तुल्सीपुरका न्यायाधीश महेश शर्मा पौडेल र उच्च अदालत जनकपुरको वीरगन्ज अस्थायी इजलासका न्यायाधीश लेखनाथ घिमिरेलाई तत्कालका लागि उच्च अदालत विराटनगरमा सरुवा गरिएको छ ।

परिषद् स्रोतका अनुसार सुन काण्डको मुद्दामा जारी आदेशमा मुख्य न्यायाधीश भुर्तेलको भूमिका रहेको भन्दै उजुरी परेको छ । परिषद्का अध्यक्ष (प्रधानन्यायाधीश राणा)लाई सम्बोधन गरेर परेको उजुरीमाथि छानबिन सुरु भइसकेको स्रोतको दाबी छ । ‘सुनकाण्डका सम्बन्धमा उच्च अदालत विराटनगरबाट जारी भएका आदेश र उक्त प्रकरणको मिसिल झिकाएर अनुसन्धान गर्ने भन्ने छलफल चलिरहेको छ ।’

प्रतिक्रिया