९० हलमा ‘गरुड पुराण’

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको हास्यप्रधान चलचित्र ‘गरुड पुराण’ मुलुकका विभिन्न ९० हलमा लाग्दैछ । केन्द्रीय चलचित्र जाँच समितिले सोमबार मात्रै सेन्सर गरेको यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाइडेड’ (पिजी) सर्टिफिकेट दिएको छ ।

‘गरुण पुराण’ काठमाडौं र मोफसलका गरेर करिब ९० हलमा प्रदर्शन हुने निर्देशक सुवास कोइरालाले जानकारी दिए । काठमाडौंका सबैजसो मल्टिप्लेक्ससँगै सिंगल थिएटर र मोफसलका अधिकांश सिनेमा हलमा आफ्नो सिनेमा रिलिज हुने सुवासले बताए । उनले भने, ‘यो चलचित्रले दर्शकलाई दुई घन्टा पूर्ण मनोरञ्जन दिन्छ । हलमा फिल्म हेरुन्जेल दर्शक खुब हाँस्दै रमाउने छन् । यो फिल्ममा ब्यान्ड बाजा बजाउने एउटा समूह र उनीहरूको परिवारले गरेको संघर्षको रमाइलो कथा उठाइएको छ । ब्यान्ड बजाउने मुख्य भूमिकामा अभिनेता नाजिर हुसेन छन र उनको चरित्रले दर्शकलाई पूरा मनोरञ्जन दिन्छ ।’

यो चलचित्रमा अभिनेता नाजिर हुसेनकै समूहमा लुनिभा तुलाधर र प्रकाश घिमिरे छन् । यस्तै कर्मा, नवअभिनेत्री प्रियंका सिंह, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका रहेको छ ।  यो चलचित्रमा सुसन प्रजापतिले छायांकन, रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन, गगन श्रेष्ठको निर्माण व्यवस्थापन रहेको छ । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको यो चलचित्रको कथा कसम नेपालको, पटकथा विनोद खतिवडा, आकाश बराल र सुवासको हो । यसको संवाद आकाशले लेखेका हुन् ।

प्रतिक्रिया