फ्रान्स जाँदै तीन मूर्तिकार

काठमाडौं । नेपाली तीन मूर्तिकार फ्रान्समा हुन लागेको हिउँमूर्ति कार्यशालामा सहभागी हुने भएका छन् । फ्रान्सको भ्यालोरमा हुन लागेको ‘इन्टरनेसनल स्नो फेस्टिभल’ मा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, विशाल सारुमगर र दिपेश घिमिरे छानिएका हुन् । जनवरी २२ देखि २५ सम्म हुने उक्त फेस्टिभलमा नेपाली समूहले ‘ह्वाइट ड्रपस्’ शीर्षकमा हिउँमा मूर्ति बनाउने छन् ।

हिउँमूर्ति बनाउने कार्यशालामा नेपाली टिमलाई ‘माउन्ट एभरेस्ट’ नाम राखिएको उक्त प्रतिस्पर्धामा विश्वभरीबाट ८ वटा टिम छानिएको मूर्तिकार पिठाकोटेले जानकारी दिए । ४ हजार मिटर उचाईमा हुन लागेको उक्त फेस्टिभलमा प्रतिस्पर्धा गर्न जुटेका नेपाली कलाकारले अवार्ड जित्ने विश्वासका साथ काम गर्ने बताए । ‘हामीले सक्दो प्रयास गर्ने छौं । पाँचौँ स्थानमा पर्न सकियो भने पनि हामीले बनाएका हिउँको कृति संग्रहालयमा संग्रहित हुनेछ, जुन हाम्रा लागि सुखद समाचार हुनेछ,’ मूर्तिकार पिठाकोटेले भने । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आफूहरूले काम गर्ने पिठाकोटेले जनाए ।


उनले भने, ‘हिउँ कला हिमालय र हिमालसम्बन्धी फस्टिभलमा बनाउने संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको छ । हिउँका सेता थोपाहरूले व्यक्ति, समूह, गाउँ, सहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धीकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश र सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’

उनले नेपालमा पनि यस्तो कार्यशाला गर्ने वातावरण बन्न सके अन्तर्राष्ट्रिय चर्चा परिचर्चा हुने विश्वास लिएको पिठाकोटेले जिकिर गरे । उनले भने, ‘नेपालमा ८ हजार मिटरभन्दा अग्ला हिमाल प्रशस्तै भएकाले हिउँमूर्ति कार्यशाला तथा संग्रहालय बनाउन सम्भव छ । यसका लागि राज्य तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउन सके नेपालको उचाइ बढ्ने थियो ।’


पिठाकोटे यसअघि कोरिया, जापान, इजरायल, मलेसिया, रसिया, थाइल्यान्ड, बंगलादेश, भारत तथा रोमानियामा भएका मूर्ति कार्यशालामा सहभागी भइसकेका छन् । उपहारको रूपमा यस हिउँका थोपाहरूले फ्रान्समा प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अझ शुद्धता दिने विश्वास लिएको अर्का मूर्तिकार विशाल सारुमगरले बताए । विशाल पनि नेपालका विभिन्न मूर्ति कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका छन् ।

प्रतिक्रिया