सिमरा गोल्डकप नवजनजागृतिको शानदार सुरुआत

बारा । आयोजक नवजनजागृति यूवा क्लबले रुस्लान सिमरा गोल्डकपको दशौं संस्करणमा विजयी सुरुआत गरेको छ । घरेलु मैदानमा स्थानिय यूवा खेलाडीले भरिएको नवजनजागृतिले मकवानपुर ११ हेटौंडालाई ३–० ले स्तव्ध पार्यो । नवजनजागृतिको जितमा निरज थापामगरले दुई तथा प्रज्वल थापामगरले एक गोल गरे ।

निकै प्रतिस्पर्धात्मक देखिएको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोश्रो हाफमा मकवानपुरमाथि आयोजक सिमरा हावी भयो । मकवानपुरविरुद्ध दोश्रो हाफमा तीन गोल गरेको आयोजकसामु मकवानपुरका खेलाडीले पहिलो हाफको लय कायम राख्न सकेनन् । खेलको ४६औं मिनटमा आयोजकका सुरज ठकुरीले हानेको फ्रिकिक मकवानपुरका गोलरक्षक अनिश देउलाले समहाल्न नसक्दा आयोजकले अग्रता लियो । गोलरक्षक देउलाले पञ्च गरेको रिबाउण्ड बललाई सदुपयोग गर्दै आयोजकका निरज थापामगरले गोलमा परिणत गरे ।

खेलको ६०औँ मिनटमा आयोजकका लागि प्रज्वल थापामगरले अग्रता दोब्बर पारे । मकवानपुरका डिफेण्डरले क्लिएर गर्न नसकेको बल डिबक्सभित्रै खोस्न सफल प्रज्वलले सहजै गोलमा परिणत गरे । खेलको ७१औं मिनटमा मोहित गुरुङको क्रसमा निरज थापामगरले व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे । कर्नर एरियाबाट मोहितले डिबक्स भित्र निकालेको क्रसबल निरजले सहजै गोलमा परिणत गरे । जितपछि आयोजकका प्रशिक्षक सोनु क्षेत्रीले स्थानिय खेलाडीले भरिएको टिमको प्रदर्शनबाट आफुखुसी भएको बताए । दुईदिनअघि वीरगञ्जमा त्रिभुवन आर्मींसंग भोगेको पराजयले कमि कमजोरी पहिल्याउन मद्दत गरेकाले मकवानपुरविरुद्ध खेल्न सहज भएको क्षेत्रीले बताए ।

मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले दोश्रो हाफमा आक्रामक खेल्न खोज्दा पराजय बेहोर्नु परेको बताए । पहिलो हाफमा बराबरी खेले पनि आक्रामक खेल्ने रणनीतिमा खेलाडी सफल नभएको उनको भनाई छ । जुनियर खेलाडीले भरिएको टिमको प्रदर्शन सन्तोषजनकनै रहेको श्रेष्ठले बताए ।

खेलको म्यान अफ दि म्याच आयोजकका निरज थापामगर घोषित भए । उनले दश हजार नगदसहित ट्रफी प्राप्त गरे । शुक्रबार विशाल मेमोरियल फाउन्डेसन वीरगञ्ज र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिक्रिया