नेपाल ‘ए’लाई स्वर्ण

काठमाडौं । आयोजक बंगलादेशको बी टोलीलाई पराजित गर्दै नेपालले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा टिम ईभेन्टस्तर्फ स्वर्ण जितेको छ । कुर्मितोला गल्फ क्लबमा शुक्रबहादुर राई र टंकबहादुर कार्कीको नेपाल ए ले कुल १२ ओभर ३ सय स्कोरका साथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण पदक जितेको हो ।

बंगलादेशको बि टिम ३ सय ३ स्कोरसहित दोस्रो भयो । दोस्रो चरणको खेलमा टंकले १ ओभर ७३ र शुक्रले ३ ओभर ७५ अंक बनाएसँगै ४ ओभर १ सय ४८ को नतिजा निकाल्दै नेपाल स्वर्णको हकदार बनेको थियो । पहिलो चरणमा नेपाल दोस्रो स्थानमा थियो ।

युवा खेलाडी सुवास तामाङ र युवराज भुजेलको नेपाल बी टिम ३ सय ३१ अंकसहित छैटौँ स्थानमा रह्यो । टिम स्पर्धामा कुल दश टिमको सहभागिता रहेको थियो । व्यक्तिगतर्फ युवराज भुजेल बाहेक अन्य चार नेपाली खेलाडीले कट बनाएका छन् । टंक कुल ४ ओभर १ सय ४९ को नतिजामा तेस्रो स्थानमा रहँदा लिडर बंगलादेशका सफिक भागाभन्दा ४ स्ट्रोकले पछाडि रहे । सफिकले ईभन पार ७२ मा दोस्रो चरण सकाउँदा कुल १ ओभर ४५ अंक जोडे । १४७ अंक बनाएका पाकिस्तानका अहमद बेग दोस्रो स्थानमा छन् ।

शुक्र राई १५० अंकसहित छैटौं र सुवास तामाङ १५४ अंक सहित १०औँ स्थानमा रहेका छन् । ग्रसतर्फ टासी घलेले पनि कट बनाए । उनले बुधबार ६ ओभर ७८ र पहिलो दिन ८७ स्कोर गरेका थिए । कट बनाउन नसकेका युवराज भुजेलले ३३ ओभर १७७ अंक बनाए ।

प्रतिक्रिया