जन्ते ढुंगाः घरवास र पदयात्रा पर्यटनसँग जोडिँदै

कास्की । प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुंगालाई घरवास र पर्यटनसँग जोड्ने पहल थालिएको छ ।

परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुंगा भन्ने गरिएको हो । उक्त स्थानमा नेपाली समाजमा विशेष गरी विवाहमा बजाइने नौमती बाजाका आकृति कुदिएका ढुंगालाई स्थानीयले बाजाका नमुनाका रूपमा लिने गरेको स्थानीयवासी अग्निधर शर्माले जानकारी दिए ।

नेपाली समाजमा परम्परागत नौवटा बाजाको सामूहिक बाजालाई नौमती बाजा भनिन्छ । पञ्चे बाजाको विस्तृत रूपमा समेत लिइने नौमतीमा पञ्चे बाजाका अतिरिक्त चार वटा अन्य बाजा थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिंगा बाजा हुन् जसमा सनही र दमाहाका दुई÷दुई वटा सेट हुन्छ ।

जन्ते ढुंगा पुग्ने पर्यटकले छरपस्ट छरिएका ढुंगामा विवाहका क्रममा बजाइने तिनै दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिंगा बाजाको सहजै अनुमान गर्दछन् । राइपुर गाउँबाट करिब १० मिनेटको हिँडाइपछि जन्ते ढुंगा पुग्न सकिने स्थानीय समाजसेवी तारापति भट्टराईले बताए । उहाँका अनुसार बाजाका आकृति कुँदिएका ढुंगामा बाजामा जस्तै विभिन्न आवाज आउने गर्छ ।

जन्ते ढुंगाको महत्व समेतका आधारमा यहाँस्थित जंगललाई जन्ते ढुंगा सामुदायिक वनका रूपमा स्थानीयले संरक्षणसमेत गर्दै आएका छन् । वन कूल ७० हेक्टर क्षेत्रफलमा फैलिएको जंगल फैलिएको छ । जन्ते ढुंगासहित यहाँको जंगल संरक्षणका लागि स्थानीय सन्तबहादुर दर्नाललाई कर्मचारीका रुपमा नियुक्त गरिएको छ । जंगलभित्रै स्थानीय सक्रियतामा बराहको मन्दिर निर्माण पनि सुरु भएको छ ।

राइपुरबाट धौलागिरि, अन्नपूर्णलगायतका उच्च हिमाली शृंखला एवं पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने बताउँदै भट्टराईले यहाँको प्राकृतिक दृश्यावलोकनसँग जन्ते ढुंगालाई सँगसँगै जोडेर अघि बढाइने बताए ।

तनहुँको दुलेगौँडाबाट सुरु भई स्यांजाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) यही मार्ग भएर जाने भएकाले मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस क्षेत्रमा घरवास कार्यक्रम सञ्चालनका लागि पहल गरेको समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । स्थानीय सक्रियतासँगै यहाँका पाँच घरमा घरवास कार्यक्रम सुरु भइसकेको छ ।

रमणीय हिमाली दृश्यको अवलोकनका साथै यहाँ रहेको प्राचीन महत्वको जन्ते ढुंगा क्षेत्रलाई समेटेर पर्यटनको विकास गरिने लक्ष्य राखिएको छ । घरवास कार्यक्रमका साथै यहाँ प्रचलित भजन, चुड्कालगायतका स्थानीय संस्कृतिलाई पनि सँगसँगै अघि बढाउने सोच राखिएको छ । मिलेनियम ट्रेकअन्तर्गत पदयात्रा मार्गमा पर्ने जन्ते ढुंगा, गुफा, दरबार आदिलाई जोड्दै तिनीहरूको पर्यटन बजारमा प्रचारप्रसार गर्नु आवश्यक रहेको महासचिव गुरुङको भनाइ छ ।

प्रतिक्रिया