चन्द्रमामा उमारेका बिरुवा मरे

बेइजिङ । चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।

अन्तरिक्ष अभियान चांग’अले लिएर गएका बिउहरू टुसाएको भन्दै चीनले मंगलबार तस्बिरहरू सार्वजनिक गरेको थियो । तर, चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो । तर, चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलोपटक थियो । चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ ।

विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेका र ती मरेका सो प्रयोगको योजना बनाउने एक वैज्ञानिकले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बताएका छन् ।

माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्नु सबैभन्दा ठूलो चुनौती मानिएको छ ।

साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित समाचारमा चन्द्रमामा बिउ उमार्ने प्रयोगको नेतृत्व गर्ने एक प्राध्यापकलाई उदधृत गर्दै तोरी र आलुका बिउहरू पनि उमारिएको उल्लेख छ । यो प्रयोगलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ ।

चीनको चांग’अ फोर नामको अन्तरिक्ष वाहन पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो भागमा अवतरण गर्ने पहिलो वाहन बनेको थियो । उक्त यान गत जेनुअरी ३ का दिन चन्द्रमाको पृष्ठभागमा अवस्थित क्षेत्रको भौगोलिक अनुसन्धान गर्न उपकरणहरूसहित त्यहाँ अवतरण गरेको थियो ।

चन्द्रमामा बिरुवा उमार्न सकिने अवस्था, साढे दुई वर्ष समय लाग्ने मंगल ग्रहतर्फको यात्रा जस्ता भविष्यमा हुने लामो दूरीका अन्तिरक्ष अभियानहरूका लागि निकै महत्वपूर्ण हुनसक्छ ।

यो सफलताको अर्थ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष यात्रामा रहेका वेला आफ्नो लागि आवश्यक खानेकुरा उमारेर प्रयोग गर्न सक्नेछन् भन्ने हो । त्यसो हुन सकेमा अन्तरिक्षयात्रीहरूले खानेकुरा लिनका लागि बारम्बार पृथ्वीमा फर्कनुपर्ने छैन ।

चन्द्रमामा अवतरण गरेको चिनियाँ अन्तरिक्षवाहनले कपास र आलुका बिउसहितको माटो, मर्चा र एक प्रकारको झिंगाको अण्डा लगायतका वस्तु लिएर गएको थियो ।

चन्द्रमामा बिरुवा उमार्न चन्द्रवाहनमा बाहिरबाट केही पनि पस्न नसक्नेगरी बन्द गरिएको सिसाको भाँडोमा बिउ राखिएको थियो । उम्रिएका बिरुवाले त्यस्तो भाँडाभित्र सूक्ष्मजैविक मण्डलको सिर्जना गर्छन् र त्यस्तो कृत्रिम वातावरणमा ती आफैँ हुर्कन्छन् ।

अठार सेन्टिमिटर अग्लो र तीन केजी तौल भएको त्यस्तो कृत्रिम जैविकमण्डल सिर्जना हुने भाँडाको डिजाइन चीनका २८ वटा विश्वविद्यालयहरूले संयुक्त रूपमा तयार पारेका थिए । उक्त प्रयोगात्मक भाँडामा सूक्ष्मजीवाणुहरूलाई हुर्कन पुग्ने हावा, पानी र पोषण उपलब्ध छ ।

प्रतिक्रिया