इस्लामलाई चिनियाँकरण गर्न पञ्चवर्षीय योजना

बेइजिङ । चीनले आफ्नो देशमा रहेका अल्पसंख्यक मुसलमानमाथिको नियन्त्रणलाई थप बलियो पार्न एक राजनीतिक अभियान सुरु गर्ने भएको छ । पञ्चवर्षीय उक्त योजनाले इस्लामीलाई चिनियाँकरण गर्न सहज हुने र तिनलाई कम्युनिस्ट विचारमा ढाल्न सकिने बताइएको छ ।

यो योजनालाई अहिले सार्वजनिक नगरिए पनि यसको मस्यौदामाथि जनवरी ६ र ७ मा सम्पन्न बैठकपश्चात् चिनियाँ इस्लामिक एसोसिएसनको वेबसाइटमा राखिएको प्रेस रिलिजमा उल्लेख गरिएको छ । चिनियाँकरणको यो उपायबारे अन्तर्राष्ट्रिय जाँच हुन सक्ने सम्भावना पनि छ । चीनको सिनजियाङस्थिति शिविरमा लाखौँ मुसलमानलाई राखिएको रिपार्ट आइरहेको बेलामा पञ्चवर्षीय योजना आउनुलाई विशेष रूपमा हेरिएको छ ।

सिनजियाङ एक स्वायत्त क्षेत्र हो, यो चीनको सुदूर पश्चिमस्थित एसियाको सीमामा पर्छ । सन् २०१५ मा राष्ट्रपति सी चिनफिङको जोडदार अपिलपछि कम्युनिस्ट पार्टीको एक इकाइ युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टले विदेशी धर्म इस्लाम, इसाईकरण तथा बौद्ध धर्मको चिनियाँकरण गर्न उल्लेखनीय ढंगमा काम गरिरहेको छ । यो इकाईले देशमा अस्थिरता पैदा हुन सक्ने कारणलाई शान्त पार्ने काम गर्ने गर्छ ।

ल्याउन लागिएको पञ्चवर्षीय योजनाको मुख्य उद्देश्य इस्लामलाई बढी ‘चिनियाँ’ बनाउनु रहेको छ । इस्लामलाई चीनको साम्यवादी सिद्धान्तमुताविक परिवर्तन गर्नु तथा राष्ट्रिय स्तरमै मुस्लिमलाई संगठित पारिने त्यसको नेतृत्व गर्ने औपचारिक निकाय चाइनिज इस्लामिक एसोसिएसनको भनाइ छ । चाइना इस्लामिक इन्स्टिच्युटका भाइस डिन गाओ जैनफुले बेइजिङमा जनवरी ६ तारिख सरकारी अखबार ग्लोबल टाइम्ससँगको कुराकानीमा परिवर्तनबारे बताएका छन् ।

उनले भनेका छन्, ‘इस्लामको चिनियाँकरणको अर्थ त्यसको मान्यता, रीतिरिवाज तथा विचारधारालाई फेर्नु होइन । इस्लामलाई समाजवादी समाजको अनुकूल बनाउनु हो ।’ चीनमा रहेका इस्लामिक समुदायले पनि आफ्नो राजनीतिक चिन्तनमा सुधार गर्दै पार्टी नेतृत्वको अनुकरण गर्न र इस्लामलाई चिनियाँकरणका लागि आग्रह गरेका छन् ।

चाइना इस्लामिक एसोसिएसनका प्रमुख यङ फेमिङका अनुसार मुख्य रूपमा मूल्य, कानुन तथा पारम्परिक संस्कृतिबारे प्रशिक्षण दिइनेछ । सकारात्मक भावका साथ विभिन्न कहानीका माध्यमबाट मुसमानहरूलाई मार्गदर्शन गरिने पनि उनले बताए । गाओ जैनफु भन्छन्, ‘मदरसाहरूमा किताब राखिनेछन्, त्यसले इस्लामको चिनियाँकरणबारे गम्भीर ढंगमा बुझ्न सहयोग मिल्नेछ ।’

चीन सरकारको यो योजनाले अर्को एउटा पञ्चवर्षीय योजनालाई स्मरण गराएको छ । चीनले गत वर्ष यस्तै योजना इसाई धर्मबारे पनि ल्याएको थियो ।

प्रतिक्रिया