चीनको ऋण कूटनीतिः अमेरिकाको टाउको दुखाइ

वासिंटन । चीनले विश्वमा आफ्नो प्रभाव बढाउनका लागि ‘ऋण कूटनीति’ तथा ‘अनुचित’ व्यापारिक गतिविधि गरिरहेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन् । उपराष्ट्रपति पेन्सले अमेरिकी राजदूतहरू सम्मिलित एक विश्व सम्मेलनमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

‘जस्तो कि हामीले देखिरहेका छौँ, चीन आफ्नो प्रभाव बढोत्तरीका लागि ऋण कूटनीति तथा अनुचित व्यापारिक गतिविधि अंगीकार गरिरहेको छ,’ विदेश विभागको फगी बटम मुख्यालयमा आयोजित सम्मेलनमा उनले भने, ‘जस्तो कि मैले केही साताअघि त्यस क्षेत्रको भ्रमणका बखत स्पष्ट पारेको थिएँ– अमेरिका सदा स्वतन्त्र एवम् मुक्त हिन्द–प्रशान्त क्षेत्रको पक्षमा उभिइरहन्छ, जहाँ सबै देश मुक्त र स्वतन्त्र व्यापारको फाइदा लिन सक्छन् ।’ सम्मेलनमा भारतका लागि अमेरिकी राजदूत केन जस्ट पनि सहभागी थिए ।

उपराष्ट्रपतिले भने, ‘वास्तविकता के हो भने, चीनले ती कानुन तथा नियमको उपेक्षाको बाटो रोजेको छ, जसले आधा शताब्दीभन्दा लामो समयदेखि दुनियाँलाई सुरक्षित र समृद्ध पार्दै आएको छ । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, हामीले चीनको यस्तो कदमको विरोध गर्दै आएका छौँ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशानुसार २५० अर्ब डलरबराबरको चिनियाँ सामान र बेइजिङले नियन्त्रणमा राख्न खोजेको (विशेषगरी उन्नत उद्योगमा शुल्क लगाउँदै आएको) वस्तुमा शुल्क लगाएको पनि उनले बताए । चीनले आवश्यक संरचनात्मक परिवर्तन नगरेसम्म र अमेरिकालाई फाइदा पुग्ने काम नगरेसम्म चिनियाँ सामानमा अधिक शुल्क लगाउन आफ्नो मुलुकले नछाड्ने पनि उनले स्पष्ट पारे ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनको सम्बन्धलाई बुझ्नका लागि अमेरिकाले ऊसँग कुशल सम्बन्ध कायमै राख्ने पनि उनले राजदूतहरूसामु बताए । पेन्सले भने, ‘हामी सबैले चीनद्वारा दक्षिणी चिनियाँ सागरमा आक्रामक प्रयास भएको देखेकै छौँ । तर पनि म दोहोर्याएरै भन्न चाहन्छु– अमेरिका मुक्त तथा खुल्ला हिन्द–प्रशान्त क्षेत्रका साथै संसारको व्यापारिक स्वतन्त्रताका लागि अन्य राष्ट्रहरूसँगै उभिनेछ ।’

प्रतिक्रिया