चन्द्रमामा बिउ टुसायो, पृथ्वीमा तरंग आयो !

बेइजिङ । चिनियाँ अन्तरिक्ष यानले चन्द्रमामा लगेका बिउहरू टुसाएको खबर सार्वजनिक भएसँगै त्यसबारे सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेका छन् ।

आफ्नो अन्तरिक्ष अभियान चांग’अले चन्द्रमामा लिएर गएका केही बिउहरू टुसाएको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले मंगलबार जनाएको थियो । पछिल्लो समाचार प्रकाशमा आएसँगै सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरूले पनि विभिन्न खाले प्रतिक्रिया जनाइरहेका छन् ।

सामाजिक सञ्जालमा तरंग

ट्विटर प्रयोगकर्ता अनुप ढकालले लेखेका छन्, ‘म्युटेसनल ब्रीडिङ’ गर्नका लागि बिउलाई चन्द्रमामा लगेर फिर्ता ल्याई अनुसन्धान गरिन्छ र नासामा पनि कृषि वैज्ञानिक काम गर्छन् रे भनेर सुनेको हो । तर, कपास आफँै त्यो वातावरणमा हुर्किन सक्ला भन्ने प्रश्न चाहिँ केही समयलाई रहिरहनेछ ।’

ठट्यौलो पारामा शोभिता सिम्खडा लेख्छिन्, ‘चन्द्रमामा कपास फुलेछ हजुरआमालाई ल्याइदिऊँला भनेको हजुरआमा मख्ख हुनुभएपछि म पनि मख्ख ।’ नेपालमा व्याप्त समस्यासँग जोडेर फेसबुकमा भोजराज योगीले लेखेका छन्, ‘चीनले चन्द्रमामा लगेको बिउ नै टुसाउने खबरको जानकारी विश्वलाई दिँदै गर्दा हाम्रोमा भने भ्रष्टाचार, बलात्कार, हत्या आदिको बिउ मात्रै टुसाउने भयो ।’

व्यंग्य गर्दै सुरज पौडेलले लेखेका छन्, ‘चीनले चन्द्रमामा कपास खेती गरिसक्यो । नेपाली भने देशमा नेता खेती गर्दै बसौँ ।’ चीनको बढ्दो सामथ्र्यतर्फ इंगित गर्दै फेसबुकमा नेत्र सापकोटाले लेखेका छन्, ‘अब चीन नै हो विश्वमा एकमात्र सम्पूर्ण हिसाबले अगाडि । उसले गर्ने कुरा अरूले गर्न त्यति सजिलो छैन ।’

ठट्यौलो पारामा समय नामक ट्विटर प्रयोगकर्ता लेख्छन्, ‘छिमेकी चीनले चन्द्रमामा कपास उमारेछ । कालान्तरमा रातमा चन्द्रमा पनि सेतो होइन हरियो देखिन्छ होला ।’

पछिल्लो प्रगतिलाई चिनियाँ फड्कोसँग जोडेका बीके गमको ठम्याइ छ, ‘चीनले विज्ञानको क्षेत्रमा गरिरहेको तीव्र प्रगतिले उसलाई अबको विश्वमहाशक्तिको रूपमा उभिन लामो समय लाग्ने छैन ।’

नेपालको बेरोजगारी समस्यासँग जोडेर फेसबुकमा सागर घिमिरेले टिप्पणी गरेका छन्, ‘अब नेपालले चन्द्रमा, नेपाल र चीनबीचको सम्झौता गर्दा हुने भयो । कपास टिप्ने कामदारका रूपमा ।’

चन्द्रमामा कुनै पनि जैविक पदार्थ उम्रिएको यो पहिलो घटना हो । चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार चन्द्रमामा पठाइएका कपासको बिउ उम्रिएर तिनमा पालुवा लाग्न थालेको छ । यसलाई लामो समय लाग्ने अन्तरिक्ष अन्वेषण अभियानका सम्बन्धमा उल्लेखनीय कदम भनिएको छ ।

प्रतिक्रिया