बोधिसत्वमा नेवार कला

ललितपुर । काठमाडौं उपत्यकामा प्रचलित नेवार कलाका विभिन्न विधाको प्रदर्शनी हुने भएको छ । बोधिसत्व आर्ट ग्यालरीको आयोजनामा हुने ‘ज्वेल्स अफ नेवार आर्ट’ शीर्षकको उक्त प्रदर्शनीमा पाँच दर्जन बढी कलाकारका कलाकृति राखिँदैछ । नेवारी कलालाई एकस्थानमा प्रदर्शन गर्ने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको ग्यालरीका निर्देशक प्रज्वलमान शाक्यले बताए । उनले भने, ‘नेवारी कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने लक्ष्य राखेर प्रदर्शनीको आयोजना गरिएको हो । यसले नेपाली कलामा रहेको विविधता र शैलीगत चिन्तनलाई नजिकबाट नियाल्न सहयोग पु¥याउँछ ।’

उनका अनुसार प्रदर्शनीमा नेपालका ६४ जना नेवार शैलीमा काम गर्ने कलाकारका कलाकृति राखिँदैछ । जसमा ३३ जना पौभा कलाकार तथा बाँकी काष्ठकला, धातुकला, फिल्ग्री, कफलिङ्क्स, बहुमूल्य धातुका मूर्ति, ठोज्या माज्या आदि लगायतका विविध कला राखिने छ । माघ ५ गतेदेखि सुरु हुने उक्त प्रदर्शनी दुई हप्ता चल्ने छ । प्रदर्शनीमा प्रेममान चित्रकार, उदयचरण श्रेष्ठ, दीपक जोशी, मुक्तिसिंह थापा, लोक चित्रकार, पूर्ण हेयजु, सुन्दर सिंख्वाल, राजेश अवाले, दिनेशचरण श्रेष्ठ, रत्नमान सिंख्वाल, हरिप्रसाद वैद्य, देवेन्द्र सिंख्वाल, समुन्द्रमान सिंह श्रेष्ठ, राजकुमार रानामगर, उजय बज्राचार्य, राजप्रकाश श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, अमृत डंगोल, शुक्रराज तामाङ, राजन शाक्य, फल्समान शाक्य, विजय शाक्य लगायतका कलाकारका कलाकृति राखिँदैछ ।

विशेषगरी, काठमाडौं उपत्यकामा नेवार समुदायमा प्रचलित कलाको आफ्नै विशिष्ट महत्व छ । उपत्यकामा प्रचलित कलाको प्राचीन विरासतलाई कायम राख्ने र यसको मुलमन्त्रलाई आत्मसात् गर्दै यसको विश्वव्यापीकरण गर्ने दिशामा काम गर्ने उद्देश्यले बोधिसत्व आर्ट ग्यालरी स्थापना गरिएको निर्देशक प्रज्वलमानले बताए । आयोजकले नेवार कलालाई नयाँ कलेवरमा आफ्नो संग्रहमा रहेका कलाकृतिलाई सार्वजनिकीकरण गर्ने जमर्को गरेको छ । ग्यालरीमा आवश्यक तापक्रम मिलाएर र अन्तर्राष्ट्रिय स्तरको बनाइएको प्रज्वलमानले जानकारी दिए ।

ग्यालरीले सन् २०११ मा पहिलोपल्ट सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा नेवार कलाको सामूहिक कला प्रदर्शनी गरेको थियो । उक्त प्रदर्शनीमा दर्शकको उल्लेख्य सहभागिता र सकारात्मक प्रेरणाले यसलाई निरन्तरता दिन आफूहरुलाई हौसला मिलेको ग्यालरीका सञ्चालक पूर्णमान शाक्यले बताए । उनले भने, ‘हामीले नेवार कलाको विकास र प्रबर्धन गर्ने ध्येय राखेर कलासंग्रह, प्रदर्शनी तथा विविध गतिविधि गर्दै आएका छौँ । यसमा शुभचिन्तकको निकै हौसला मिलेको छ ।’

बोधिसत्वले त्यसपछि आफूसँग संग्रहितमध्ये युवा कलाकार समुन्द्रमान सिंह श्रेष्ठको सन् २०१६ मा एकल कला प्रदर्शनी ग¥यो । यसै वर्ष अर्का चर्चित पौभा कलाकार उदयचरण श्रेष्ठको एकल कला प्रदर्शनी गर्ने तयारी गरिरहेको छ ।  बोधिसत्व ग्यालरी व्यवसायिक संस्था भए पनि उत्कृष्ट कलालाई सदैव प्रोत्साहन र प्रवर्धन गर्ने प्रयास गरिरहेको प्रज्वलमानले जनाए । ग्यालरी सञ्चालक पूर्णमान शाक्य र अञ्जना शाक्यले आफ्नो व्यक्तिगत संग्रहमा पनि धैरे नेवार कलाकारका कलाकृति संग्रह गरेका छन् ।

ग्यालरीमा २ खण्ड रहेका छन् माथिल्लो तलाको स्थान जोसुकैका लागि पनि प्रयोग गर्न सकिन्छ भने तल्लो तलामा रहेको ग्यालरी बोधिसत्वको स्थायी ग्यालरी हो । ग्यालरीलाई सहजरूपमा सञ्चालन गर्न प्रज्वलमानको अथक योगदान रहेको छ भने कलालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा भर्जिनिया कमनवेल्थ युनिभर्सिटीबाट स्नातक गरेर आएका सिद्धार्थ शाक्यको सोच र दक्ष योजनामा बोधिसत्व सञ्चालन गर्न लागिएको हो ।  सिद्धार्थका अनुसार ग्यालरीलाई पूर्णरुपमा व्यवसायिक र अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूहरुले पहल गरिरहेको बताए ।

प्रतिक्रिया