चीन–उत्तर कोरियाबीचको व्यापारमा मन्दी

बेइजिङ । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग चीनको व्यापारमा गतवर्ष व्यापक कमी आएको छ ।

उत्तर कोरियासँग चीनको घनिष्ठ सम्बन्ध रहँदै आएको छ र चीन नै उत्तर कोरियाको व्यापार एवं सहायताको मुख्य स्रोत हो । तर, सन् २०१७ मा उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमपछि चीनले पनि राष्ट्रसंघीय प्रतिबन्धलाई आत्मसात् गरेको थियो ।

व्यापारमा प्रतिबन्ध लागेसँगै सन् २०१७ को तुलनामा गतवर्ष द्विपक्षीय व्यापारमा करिब ५३ प्रतिशतले कमी आएको बताइएको छ । उत्तर कोरियाबाट चीनतर्फको आयातमा पनि सन् २०१८ मा ८८ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।

सरकारी विवरणअनुसार उत्तर कोरियाबाट सन् २०१८ मा करिब २१ करोड अमेरिकी डलर बराबरका सामान मात्र आयात भएको छ । भन्सार प्रशासनका प्रवक्ता ली कुवेनका अनुसार चीनबाट उत्तर कोरियातर्फको निकासीमा पनि ३३ प्रतिशतले कमी भई २ अर्ब १८ करोडमा सीमित भएको छ ।

चीन र उत्तर कोरियाबीचको व्यापारका सन्दर्भमा हामीले सुरक्षा परिषद्को प्रस्तावलाई कडाइका साथ लागू गरेका छौँ,’ लीलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ । व्यापार प्रतिबन्धका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रमुख मुद्रा आर्जनमा समस्या झेल्नुपरेको छ ।

उत्तर कोरियाले खासगरी कोइला र अरू खनिज पदार्थ, माछा र कपडा निकासी गर्ने गरेको छ । निर्यातमा आएको कमीका कारण उत्तर कोरियाको अर्थतन्त्रमा जटिलता उत्पन्न भएको बताइन्छ । सन् २०१७ मा उत्तर कोरियाको समग्र अर्थतन्त्र ३ दशमलव ५ प्रतिशतले खुम्चिएको थियो ।

उत्तर कोरियाको अर्थतन्त्रमा गम्भीर असर परेको विगत दुई दशकमै यो पहिलोपटक हो । अर्थतन्त्रको प्रक्षेपणलाई दक्षिण कोरियाको केन्द्रीय बैंकले समेत पुष्टि गरेको छ ।

दक्षिण कोरियाको केन्द्रीय बैंक बैंक अफ कोरियाका अनुसार, उत्तर कोरियाको खानी उद्योगमा सन् २०१७ मा ११ प्रतिशतले कमी आएको छ जबकि, सन् २०१६ मा यसको वृद्धि ८ दशमलव ४ प्रतिशत थियो । औद्योगिक उत्पादनमा पनि गत वर्षको ४ दशमलव ८ प्रतिशतको वृद्धि खुम्चिएर ६ दशमलव ९ प्रतिशत भएको छ । कृषि र माछापालनमा पनि १ दशमलव ३ प्रतिशतले कमी आएको छ ।

चीन र रुस दुवैले प्योङयाङमाथि लागेका राष्ट्रसंघीय प्रतिबन्धमाथि पुनर्विचार गर्नुपर्ने बताएका छन् । वासिंगटनले भने उत्तर कोरियाले आणविक हातहतियार निर्माणलाई तत्काल बन्द गर्नुपर्ने सर्त राखेको छ । गत साता उत्तर कोरियाली नेता किम जोङ उनले चीनको चौथोपटक भ्रमण गरेका थिए ।

उत्तर कोरियामाथिका प्रतिबन्ध फुकुवा गर्न एवं बहुप्रतिक्षित अमेरिका–उत्तर कोरिया शिखर वार्तामा सहमति जुटाउन भ्रमण उपलब्धिमूलक रहेको बताइएको छ ।

प्रतिक्रिया