चीनसँगको सीमामा भारतका ४४ सडक

नयाँदिल्ली–भारतले चीनसँगको सीमामा ४४ वटा रणनीतिक महत्वको सडक निर्माण गर्ने भएको छ । भारत सरकारले पञ्जाब र राजस्थानमा २ हजार १ सय किलोमिटरभन्दा बढी एक्सियल र ल्याटरल सडकको पनि निर्माण गर्ने सिपिडब्लुडीको डकुमेन्टले देखाएको छ ।

भारत–चीन सीमामा रणनीतिक महत्वका ४४ वटा सडक निर्माण गर्नका लागि अधिकार प्राप्त गरेको सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले तयार पारेको र यसै महिनाको सुरुमा सार्वजनिक गरेको सन् २०१८–२०१९ को वार्षिक प्रतिवेदनअनुसार ती सडकहरू द्वन्द्वका समयमा फौजलाई तत्काल परिचालन गर्ने उद्देश्यका साथ निर्मााण हुने भएका हुन् ।

करिब ४ हजार किलोमिटर लामो भारत र चीनबीचको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ ले जम्मु र कस्मिरदेखि अरूणाञ्चल प्रदेशसम्म छोएको छ । भारतसँगको सीमावर्ती क्षेत्रमा चीनले विभिन्न आयोजनाहरूलाई महत्व दिइरहेकै वेला भारतको यस्तो प्रतिवेदन सार्वजनिक भएको भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

गत वर्ष भारत, चीन र भुटान तीन देशको सीमामा पर्ने डोक्लाममा बेइजिङले सडक निर्माण गर्न थालेपछि भारतीय फौज र चिनियाँ फौज आमनेसामने भएका थिए । चीनले सो क्षेत्रमा भइरहेको सडक निर्माणलाई रोक्ने र भारतले आफ्नो फौज फिर्ता लाने सहमति भएपछि सन् २०१८ को अगस्ट २८ का दिन दोक्लामको विषयलाई लिएर नयाँदिल्ली र बेइजिङबीचको तनाब अन्त्य भएको थियो । सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चीनसँगको सीमामा बन्ने ४४ वटा रणनीतिक महत्वका सडकको निर्माणका लागि लगभग २१ हजार करोड भारतीय रूपैयाँ लाग्नेछ ।

‘चीनसँग सीमा जोडिएका भारतका पाँच राज्य जम्मु र कस्मिर, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरूणाञ्चल प्रदेशमा ४४ वटा रणनीतिक महत्वका सडक निर्माणको जिम्मेवारी सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले प्राप्त गरेको छ,’ प्रतिवेदनमा भनिएको छ । ‘डिटेल्ड प्रोजेक्ट रिपोर्टस् (डिपिआर) अनुसार सडक निर्माणका लागि कुल खर्च लगभग २१ हजार ४० करोड भारतीय रूपैयाँ लाग्नेछ,’ प्रतिवदेन उद्धृत गर्दै भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद्को कमिटीले सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले तयार पारेको डिपिआरलाई अनुमोदन गर्ने प्रक्रियामा राखेको बताइएको छ । राजस्थान र पञ्जाब क्षेत्रमा पर्ने भारत र पाकिस्तान बीचको सीमामा पनि २ हजार एक सयभन्दा बढी किलोमिटरको ल्याटरल र एक्सियल सडक पनि निर्माण हुने सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ । भारत–पाकिस्तान सीमामा बनाइने सडकको भने सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्टले डिपिआर तयार पारिरहेको बताइएको छ । सेन्ट्रल पब्लिक वर्कस् डिपार्टमेन्ट भारतको केन्द्रीय सरकारको प्रमुख निर्माण एजेन्सी हो ।

प्रतिक्रिया