ट्रम्पलाई स्पष्टीकरण दिनको सास्ती !

वासिंगटन । अहिले महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अर्को प्रतिस्पर्धी राष्ट्र रसियाका लागि कहिले पनि काम नगरेको भन्दै स्पष्टीकरण दिँदै हिँड्नुपरेको छ । उनले सोमबार पनि एउटा यस्तै स्पष्टीकरण दिए । उनी ह्वाइटहाउसमा पत्रकारहरूसँग भन्दै थिए, ‘मैले कहिले पनि रसियाका लागि काम छैन ।’

उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि विगतमा काम गरेको भनेर सञ्चार माध्यममा समाचार पटक–पटक आउन थालेपछि ट्रम्पले पछिल्लोपटक सोमबार सो कुरा बताएका हुन् । ट्रम्पले भनेका छन्, ‘मलाई केही पनि लुकाउनु छैन ।’ त्यतिवेला गएको जुलाइमा दुई घण्टासम्म हेल्सिन्की शिखर सम्मेलन भएको थियो । दोभाषे मात्रै कोठामा भएको बताइएको छ ।

अन्य कुराका अतिरिक्त सो अवसरमा इजरायलको सुरक्षा र रसियाबाट जर्मनीसम्मको ग्यास पाइपलाइनका बारेमा कुरा भएको ट्रम्पले बताएका छन् । रुसका लागि काम गरेको भनेर आफूलाई धेरै नै अपमान हुने कुरा गरिएको ट्रम्पले गुनासो गरेका छन् ।
उता भर्जिनियाबाट डेमोक्र्याट सिनेटर मार्क वार्नरले ट्रम्पले पुटिनको नीतिको सुगा रटाइ गर्ने काम गरिरहेको सिएनएनसँगको कुराकानीमा बताएका छन् । आफूले केही पनि गोप्य नराखेको ट्रम्पको दाबी छ ।

द वासिंगटन पोस्ट पत्रिकाका अनुसार सन् २०१७ मा पुटिनसँग भएको कम्तीमा एउटा भेटवार्तापछि ट्रम्पले आफ्ना अनुवादकका टिपोट आफैसँग राखेका थिए । हेल्सिन्कीमा गतवर्ष जुलाइमा पुटिनसँग ट्रम्पले गरेको दुई घण्टा लामो एक्लाएक्लै भेटवार्ताको कुनै रेकर्ड नराखिएको समेत समाचारमा जनाइएको छ ।

सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पुटिनसँगको ट्रम्पको सम्बन्धको कुरा पनि संघीय छानबिनको दायरामा छ । संघीय अनुसन्धान निकाय एफबिआइका पूर्वप्रमुख रोबर्ट म्युलर नेतृत्वको टोलीले ट्रम्पको चुनावी अभियान समूह र मस्कोबीच साठगाँठ भए वा नभएको अनि ट्रम्पलाई जिताउन उसले सघाए वा नसघाएको बारे अनुसन्धान गरिरहेको जनाइएको छ ।

गएको हप्ताको सुरुमा द न्युयोर्क टाइम्सले जनाएअनुसार एफबिआइका तत्कालीन निर्देशक जेम्स कोमीलाई ट्रम्पले बर्खास्त गरेपछि रुसका लागि उनले गोप्य रूपमा काम गरेको भन्नेबारे एफबिआइले अनुसन्धान सुरु गरेको हो । ट्रम्पलाई जिताउन र उनकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई धक्का पु¥याउने उद्देश्यका साथ रुसले साइबर आक्रमणहरू गरेको र सामाजिक सञ्जालमा झुट्टा समाचार राख्न लगाएको आरोप लगाइँदै आएको छ । आफूले कैयौँ विश्व नेताहरूसँग भेटवार्ता गरे पनि पुटिनसँगको वार्ताबारे मात्रै बढी चर्चा हुने गरेको ट्रम्पको गुनासो रहँदै आएको छ ।

प्रतिक्रिया