सभामुख कप भलिबल: पुलिस र प्रदेश नम्बर ३ क्वार्टर फाइनलमा

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब र प्रदेश नम्बर ३ पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा मंगलबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३ – ० को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । पुलिसले २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गरेको थियो ।

जितसंगै पुलिस समूह ’डी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पराजित भएपनि गण्डकी उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । यस समूहमा दुई टोली मात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । यस्तैै प्रदेश–३ ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान पक्क गरेको छ । प्रदेश–३ ले आर्मीमाथि २५–१०,१२–२५,२५–२० र २५–१४ को सेटमा हरायो ।

जितसंगै प्रदेश–३ ले समूह ’सी’ को विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पराजित भएपनि आर्मीले उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । यस समूहमा पनि दुई टोली मात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
प्रतियोगिता अन्तर्गत एपीएफले प्रदेश–१ लाई हराएर विजयी सुरुवात गरेको छ । एपीएफले प्रदेश नम्बर १ लाई २५–३,२५–८ र २५–३ को सेटमा हराएको हो । जितसंगै समूह ’ए’ बाट एपीएफले क्वाटरफाइनलमा पुग्ने संभवाना बलियो बनाएको छ ।

यस्तै समूह ’बी’ अन्तर्गत प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई २५–१०,२५–८ र २५–१४ को सेटमा पराजित गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजना तथा नेपाल भलिबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको विजेताले नगद ३ लाख ५० हजार रूपैयाँ पाउने छन् । यस्तै दोस्रो हुने टिमले १ लाख ७५ हजार, तेस्रोले १ लाख रूपैयाँ र चौथोले सान्त्वना स्वरूप २५ हजार रूपैयाँ पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाईकर, सेटर, लिबरो, ब्लकर, सर्भर र प्रशिक्षकले समान ५/५ हजार पाउनेछन् ।

प्रतिक्रिया