‘टुटल’ र ‘पठाओ’माथि प्रहरीको निगरानी

काठमाडौं । मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्छन् भन्दा तपाईंलाई नौलो लाग्न वा नलाग्न पनि सक्छ । तर काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको छ ।

विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ ।

शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता के छ भनेर गुनासो आयो । हेल्लो सरकराबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा आवश्यक छानबिनका लागि निर्देशन भयो । बुझ्दै जाँदा मोबाइल एप्समार्फत मोटरसाइकलको प्रयोग गरेर यात्रु ओसारेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए ।

नेपालमा भाडाका सवारीसाधन र ट्याक्सीले यात्रु ओसार्दै आएका छन् । यातायात व्यवस्था ऐनमा भएको प्रावधानमा टेकेर सरकारी अनुमतिमा यस्ता सवारीसाधनले निश्चित शुल्क लिएर यात्रु बोक्छन् । तपाईं हामीले पनि भाडाका गाडी प्रयोग गर्दै आएका छौँ ।

कुनै पनि सवारीले यात्रु बोक्नलाई यातायात व्यवस्था विभागमा दर्ता गर्नुपर्छ । तर यातायात व्यवस्था विभागमा मोटरसाइकलले यात्रु बोक्न पाउने भनेर दर्ता नभएको पाइएपछि गैरकानूनी काम भनेर कारवाही थालिएको प्रवक्ता सापकोटा बताए ।

‘प्रहरीमा पनि गुनासो आउन थालेको छ, हामीले पाँच वटा मोटरसाइकललाई कारवाही गरेर अब प्रयोग नगर्ने सर्तमा छाडेका छौँ, कानूनी प्रक्रिया नपु¥याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन’, प्रवक्ता सापकोटाले भने ।

यसरी सेवा दिने मोटरसाइकल टुटलसँग एक हजार र ‘पठाओ’सँग पनि एक हजार बाइक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विभिन्न स्थानमा रहने भएकाले जुन ठाउँका यात्रुको माग आउँछ त्यही ठाउँको मोटरसाइकल प्रयोग हुन्छ ।

मोटरसाइकल भएका विद्यार्थी चिकित्सक, वकील, विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यात्रु बोक्न सहभागी हुने गरेको अनुसन्धानबाट थाहाभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया