सम्पदास्थलमा चारपांग्रे सवारी रोक

भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदास्थलमा मंगलबारदेखि चार पाङ्ग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाँचतले मन्दिर परिसरमा मंगलबारदेखि चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जानकारी दिए । नगरप्रमुख प्रजापतिले सिक्रीमा ताला लगाएर चारपाङ्ग्रे सवारी रोक्न औपचारिक शुरुआत गरे । सवारीसाधन रोक्नका लागि पूर्वमा साकोठा जाने चोक र पश्चिममा गःहिटी जाने बाटोमा सिक्री लगाइएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदास्थलको अवलोकनमा आउने पर्यटकलाई सवारीसाधनको अव्यवस्थित पार्किङ, अनावश्यक भीड र हर्न बजाउने, जथाभावी सवारी आवतजावतले बाधा पु¥याएको तथा पर्यटकलाई तस्बीर लिनसमेत समस्या परेको गुनासो बढेपछि नगरपालिकाले चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो ।

नगरप्रमुख प्रजापतिले विश्व सम्पदास्थलको संरक्षण गर्न भक्तपुर घुम्न आउने पर्यटकलाई बाधा नपुगोस् भनेर सवारी प्रवेशमा रोक लगाएको बताए । सवारीसाधनको कम्पनले पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको संरक्षणमा बाधा पुगेपछि नगरपालिकाले सम्पदाको संरक्षणलाई समेत ध्यान दिँदै सवारी प्रवेशमा रोक लगाएको हो ।

पाँचतल्ले मन्दिरको पूर्वमा क्वाछें, पश्चिममा स्वपुंग भैरव, उत्तरमा चतुब्रह्म महाविहारको पूर्वी बाटो र दक्षिणमा तीलमाधव नारायण मन्दिरको पूर्वी ढोकायताको चार किलाभित्र बिहान ७ देखि बजेदेखि बेलुका ७ बजेसम्मलाई चारपाङ्ग्रे सवारीसाधन प्रवेशमा निषेध गरिएको नगरप्रमुख प्रजापतिले बताए ।

नगरपालिकाले अत्यावश्यक सवारीसाधन एम्बुलेन्स, शववाहन, दमकललगायत साधनलाई भने सञ्चालनमा रोक लगाएको छैन । यसअघि नगरपालिकाले भक्तपुर दरबार क्षेत्रभित्र दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन निषेध गरेको थियो । स्थानीय जनताको सल्लाह र सुझाव लिएर अन्य सम्पदास्थलम समेत सवारी प्रवेश रोक लगाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया