कालीगण्डकीमा बिहानैदेखि भक्तजनको घुइँचो

पर्वत । मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । उत्तरायण सुरु हुने भएकाले आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पूण्यदायक मानिने भएकाले बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो ।

कालीगण्डकी अन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनीघाट, नयाँ पुललगायतका स्थानमा भीड लागेको हो । मोदीवेणीमा बिहानैदेखि भजनकीर्तन पनि सुरु भएको छ ।

बिहानै कालीगण्डकीमा स्नान गरेर तील दान गर्नाले सुन दान गरेसरहको पूण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहानै कालीगण्डकीमा पुगेका छन् भने टाढाटाढाबाट आउनुपर्ने भने सोमबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालीग्रामलगायतका बजार क्षेत्रमा बसोबास गरी बिहानै स्नान गर्न पुगेका हुन् ।

माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तीलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन पनि रहेको छ । यसैबीच पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ ।

तीन जिल्ला र दुई प्रदेशको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्न स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् । कालीगण्डकी ए जलुविद्युत् निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जलयात्रामार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।

अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गरेको स्थानीयवासी अशोकसिंह पाण्डेले जानकारी दिए । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।

प्रतिक्रिया