देशभक्त गणतान्त्रिक मञ्चले गर्यो सम्मान

काठमाडौं । कला, साहित्य, संगीत तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्रष्टा तथा सामाजिक अभियन्तालाई सम्मान गरेका हुन् ।

सम्मानित हुने व्यक्तित्वमा राष्ट्रिय जीवनको विभिन्न क्षेत्रमा योगदान पु¥याएका गायक जीवन शर्मा, चलचित्रकर्मी दयाहाङ राई, कलाकार नारदमणि हार्तम्छाली, पत्रकार ओम शर्मा, गोविन्द पोखरेल र ऋषि धमला, सफाइ अभियानकर्मी माला खरेल, क्याप्टेन विजय लामा, साहित्यकार हरिहर खनाल, खेलाडी दमन बस्नेत, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल लगायतलाई सम्मान गरिएको थियो ।

मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचनसमेत गरियो । कार्यक्रममा प्रचण्डले साहित्यिक र सांस्कृतिक दृष्टिले भावनात्मक रूपमा राजनीतिक रूपान्तरण नगरेसम्म परिवर्तन स्थायी हुन नसक्ने र देश इतिहासकै राम्रो अवसरमा पुगेकाले विकास र समृद्धि नै सबैको लक्ष्य हुनुपर्ने जिकिर गरे  l खण्डकाव्यको समीक्षा गर्दैै डा. रामप्रसाद ज्ञवालीले नारी हकहित र चेतनाको विषय उठाउन पुस्तक सफल रहेको बताए । कृतिका माध्यमबाट कवयित्रीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक रूपान्तरण जरुरी रहेको सन्देश दिएको उनले जानकारी दिए ।

साहित्यकार बस्नेतले फरियामा सीमित गरेर महिलाको क्षमता दबाइएको विषय आफूले साहित्यमार्फत उठाएको सुनाइन् । राम्रा कृतिको अनुवाद गरी विश्व साहित्यमा दर्ज गराउन राज्यले सहयोग गर्नुपर्ने उनले माग गरिन् । दुई खण्डमा विभाजित पुस्तकमा ११६ पृष्ठ छ । पाल्पा बुक्सले प्रकाशन गरेको खण्डकाव्यको मूल्य रु २०० छ । साहित्यकार बस्नेतको यो १६औँ कृति हो ।

प्रतिक्रिया