लेखनाथको सम्झनामा कविता वाचन

काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीको अवसर पारेर डेढ दर्जन बढी कविले कविता वाचन गरेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लेखनाथले लेखेको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गरेका थिए ।

डा. सुधनकुमार पौडेल, आरएम डंगोल, विवश पोखरेल, तेजविलास अधिकारी, रामबाबु सुवेदी, भुवनहरि सिग्देल लगायतका कविले समेत आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि शिरोमणि लेखनाथ पौड्याल जनजीवनमा भएका समस्या आध्यात्मिक चेतनाबाट मानवतावादतर्फ केन्द्रित गर्न सक्ने स्रष्टा भएको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली साहित्यमा लेखनाथले साहित्य सिर्जनाका माध्यमबाट अतुलनीय योगदान दिनुभएको छ ।’ प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले अर्चलेस्थित कवि शिरोमणिको निवासमा अहिले संग्रहालय बनाइएको जानकारी दिए । प्रतिष्ठानले हालै कवि शिरोमणि पौड्याल र महाकवि लक्ष्मीप्रसाद देवकोटाको कमलादिस्थित परिसरमा अर्धकदको मूर्ति निर्माण गरेको छ ।

प्रतिक्रिया