भरत खवासको ह्याट्रिक

वीरगन्ज । कप्तान भरत खवासले ह्याट्रिक गर्दा त्रिभुवन आर्मी क्लबले वीरगन्जको नारायणी रंगशालामा जारी दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगितामा सोमबार जनजागृति क्लब सिमरालई पराजित गरेको छ ।  सुरुमा निकै प्रतिस्पर्धात्मक देखिएको खेलको ४२औं मिनेटमा मिडफिल्डबाट आएको पासलाई त्रिभुवन आर्मीका कप्तान भरत खवासले जाली चुमाएका थिए । त्यस्तै दोस्रो हाफको दोस्रो मिनेटमा नै खवासले पुनः एक गोल हानेपछि प्रतिस्पर्धी जनजागृतिको प्रदर्शन रक्षात्मक हुन पुगेको थियो ।

डी एरियामा बल लिएर अघि बढ्दै गरेका त्रिभुवन आर्मीका भरत खवाससँग जनजागृतिका कप्तान सुनील राउत टकराएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खवासले खेलकोे ८९औं मिनेटमा गोलमा रूपान्तरित गरेका थिए । आर्मीका खवास म्यान आफ दी म्याचसमेत घोषित भए । प्रतियोगितामा मंगलबार झापा–११ र भारतको सिलिगुढी टोलीबीच खेल हुने आयोजक विशाल मेमोरियल फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया