नेपालको उत्कृष्ट लय यथावत्

काठमाडौं । सीता रानामगरको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार थाइल्यान्डमा जारी वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताको दोस्रो स्थान पक्का गरेको छ । थाइल्यान्डको एसियन एन्सिच्युट अफ टेक्नोलोजीको क्रिकेट मैदानमा नेपालले युएईमाथि ६ विकेटको सफलता निकाल्दै लगातार तीन जितसँगै दोस्रो स्थान पक्का गरेको हो । यसअघि चीन र मलेसियाविरुद्ध जित निकालेको नेपालले समूह ‘ए बाट दोस्रो स्थान पक्का गरेको हो ।

नेपालले आफ्नो समूहको अन्तिम खेल मंगलबार थाइल्यान्ड ‘ए’ विरुद्ध खेल्नेछ । थाइल्यान्डविरुद्ध जित निकाल्न सके नेपाल समूहविजेताको रूपमा सेमिफाइनल यात्रा गर्नेछ । युएईले भने तीन खेलमा ४ अंक बटुलेको छ । मंगलबार नै युएईले जित निकाल्दा दोस्रो चरणको यात्रा पक्का गर्नेछ ।

नेपाल हार्दा युएईले जित निकालेको खण्डमा पनि रनरेटले समूहको विजेता टुंगो लाग्नेछ । युएईले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य नेपालले चार विकेट गुमाउँदै अन्तिम ओभर बाँकी छँदा पूरा गरेको थियो । ओपनरद्वय सीता रानामगर र काजल श्रेष्ठले ६१ रनको साझेदारी गर्दै नेपालको जितको आधार बनाएका थिए ।

११.२ ओभरमा हुमैरा तास्निमले सीतालाई ३७ रनमा आउट गर्दै नेपालको पहिलो विकेटको साझेदारी तोडेकी थिइन् । ३५ बल खेलेकी सीताले ४ चौका प्रहार गरिन् । त्यसपछि भने नेपाली चेलीले खासै राम्रो साझेदारी बनाउन सकेनन् । त्यसलगत्तै १३औं ओभरमा डोली भट्ट ७ रनमा इसा ओजाद्वारा एलबिडब्लु आउट भइन् ।

१५औं ओभरमा काजल पनि तेस्रो विकेटको रूपमा युएईकी काभिसा कुमारीद्वारा रनआउटको सिकार भएपछि नेपालको इनिङ धरमराएको थियो । ४२ बल खेलेकी काजलले २५ रन बनाए पनि बाउन्ड्री प्रहार गर्न असफल रहिन् । त्यसपछि ब्याटिङ गर्न आएकी इन्दु बर्मा पनि ११ रन बनाएर आउट भइन् ।

१६.४ ओभरमा चामनी सेनेभिरत्नेले इन्दुलाई पवेलियनको बाटो देखाएकी थिइन् । तर, पाँचौं विकेटका लागि कप्तान रुबिना क्षेत्री र नेरी थापाले १८ रनको साझेदारी गर्दै नेपाललाई अन्तिम ओभरअगावै जित दिलाए । रुबिना १० रनमा र नेरी ६ रनमा अविजित रहे ।  त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । उसका लागि छायाँ मुघलले सर्वाधिक ३१ रनको योगदान दिइन् । पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेर आउट भएकी छायाले ४१ बलमा एक चौका हिर्काइन् ।

इसा ओजा २८ रन बनाएर आउट हुँदा चामनी सेनेभिरत्ने २३ रनमा आउट भइन् । नेपालको बलिङमा डेब्यु गरेकी सोनु खड्काले तीन ओभरमा १६ रन खर्चिंदै एक विकेट लिइन् । करुणा भण्डारी र सीता रानामगरले समान एक विकेट निकाले । नेरी थापाले ४ ओभरमा किफायती बलिङ गर्दै १७ रन मात्र खर्चिए पनि विकेट लिन भने सकिनन् ।

१० टोली सहभागी रहेको प्रतियोगिताको समूह ‘बी’ मा आयोजक थाइल्यान्ड, हङकङ, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन् । समूह ‘बी’ को इन्डोनेसियाले तीन खेलमा शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा छ । २ खेलमा २ जित निकालेको थाइल्यान्ड दोस्रोमा र तीन खेलमा एक हार बेहोरेको हङकङ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया