‘आफ्नो नेताको नामको अस्पताल खारेज गरे सशक्त प्रतिकार’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गर्न लागिएको अस्पताल सरकारले विघटन गर्न लागेको आरोप लगाएको छ ।

सिहदरबारमा आकस्मिक रूपमा पत्रकार सम्मेलन गरेर कांग्रेसले सरकारले दुवै अस्पताललाई विघठन गर्ने तयारी गरेको दाबी गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले यसलाई कांग्रेसको अस्तित्व माथिको हमलाको रूपमा व्याख्या गरेका छन् । स्वास्थ्य मन्त्रालयले कोइरालाद्वयको नाममा खोल्न लागिएका अस्पताल विघटनमा लैजान लागेको जानकारी आफूले पाएको बताए पनि कहाँबाट पाएको भन्नेबारे केही खुलाएनन् ।

गिरिजाप्रसादको नाममा तनहुँमा श्वास प्रश्वास र सुशीलको नाममा बाँकेको खजुरामा क्यान्सर अस्पताल निर्माणको चरणमा छ । ‘यो सरकार कांग्रेसको अस्तित्व नै निमिट्यान्न पार्ने षड्यन्त्रमा लागेको छ । नेपाली कांग्रेस कठोररूपमा उत्रन्छ । हामी सरकार र सदन दुवैबाट यसको प्रतिवाद गर्छाैँ ।’ पौडेलले पत्रकार सम्मेलनमा भने ।

यस विषयमा आफूहरूले सोमबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न खोजे पनि समय नपाएको गुनासो गर्दै मंगलबार भेटेर कुरा राख्ने बताए । ‘यदि सरकारले ती अस्पताल विघटन ग¥यो भने सडक र सदन अवरुद्ध गर्छौं, पौडेलले भने, ‘सरकारले जुन किसिमको संकेत दिन खोज्यो, त्यसलाई नेपाली कांग्रेसले गम्भीर ढंगले लिएको छ । सरकारले यही रवैया अगाडि बढाए, प्रतिपक्षप्रति यति पूर्वाग्रह राखेमा, कठोर कदम चाल्नुपर्ने हुन्छ ।’

स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पताललाई केन्द्र सरकार मातहत राख्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेकोमा यी दुईबाहेक अन्य अस्पतालको मात्र निर्णय भएको जानकारी पाएको नेता पौडेलले बताए । ‘केही अस्पताल प्रदेश होइन केन्द्रमा राख्नुपर्छ भनेर ११ वटा अस्पताल केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालयले प्रस्ताव पठायो, क्याबिनेटले यी दुई अस्पताललाई बाहेक गरेर अरूलाई सदर गरेर पठायो’, नेता पौडेलले भने, ‘अनि स्वास्थ्य मन्त्रालयमा विघटनको प्रक्रियामा लाने भनेर विघटन प्रक्रिया सुरु गर्यो भन्ने खबर पायौँ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला भएको भारत भ्रमणका क्रममा भारत सरकारले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास अस्पताल निर्माणका लागि सहयोग गर्ने बताएको थियो । उक्त अस्पतालका लागि सात सय रोपनी जग्गा प्राप्त भइसकेको थियो ।

प्रतिक्रिया