हिरानीमाथि यौन उत्पीडनको आरोप

एजेन्सी, मुम्बई । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीमाथि यौनउत्पीडनको आरोप लागेको छ । निर्देशक हिरानीलाई ‘सन्जु’ मा काम गरेकी एक सहायकले यौनउत्पीडनको आरोप लगाएकी हुन् । थ्रि इडियट्स, पिके, मुन्ना भाइ एमबिबिएस तथा सन्जुजस्ता निकै सफल चलचित्र निर्देशन गरिसकेका हिरानीका बारेमा चर्चित अमेरिकी सञ्चारमाध्यम हफिंटन पोस्टमा प्रकाशित समाचारका अनुसार उक्त आरोपको आफ्ना वकीलमार्फत अस्वीकार गरेका छन् ।

यौनउत्पीडनका विरुद्ध अमेरिकाबाट सुरु भएको यौन ‘मिटु’ अभियानले गत वर्ष बलिउडका निकै चर्चित अनुहारको नाम मुछिएको छ । हिरानीलाई ती महिलाले ६ महिनाको अवधिमा एकभन्दा बढी अवसरमा दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । उनले मार्चदेखि सेप्टेम्बरसम्मको अवधिमा हिरानीले घर तथा कार्यालयमा आफूमाथि यौन दुव्र्यवहार गरेको जिकिर गरेकी छन् ।

समाचारअनुसार उनले आफूमाथि भएको सो घटनाका बारेमा नोभेम्बरमा ‘सन्जु’ का सहनिर्माता विधुविनोद चोपडा, हिरानीकी पत्नी तथा पत्रकार अनुपमा चोपडा, हिरानी निकट पटकथाकार अभिजात जोशी तथा अनुपमाकी बहिनी सेली चोपडालाई विस्तृत इमेल लेखेको जनाइएकी छन् ।

इमेल लेखिएअनुसार हिरानीले अप्रिल महिनामा पहिलोपटक आपत्तिजनक टिप्पणी गरेका थिए । त्यसपछि निवास तथा कार्यालयमा समेत दुव्र्यवहार गरेको उल्लेख छ । इमेलमा उनले ६ महिनाको अवधिमा आफ्नो ‘मस्तिष्क, शरीर र मन नराम्ररी बिथोलिएको’ लेखेकी छन् ।

उनले आफ्नो बाबुको स्वास्थ्य अवस्था नाजुक भएका कारण हिरानीसमक्ष अनुग्रहित भएर पेस हुनुपरेको पीडा व्यक्त गरेकी छन् । उनले आफ्नो करिअरमा धक्का पुग्ने डरले त्यतिवेला नबोलेको समेत जनाएकी छन् । उनले यस्तो दाबी गरे पनि हिरानीका वकिल आनन्द देशाइले आरोप ‘तथ्यहीन र पूर्णतया प्रमाणविहीन’ भएको बताएका छन् ।

निर्देशक हिरानीमाथि यौन उत्पीडनको आरोप लागेपछि रिलिजको तयारीमा रहेको सोनम कपुर अभिनीत चलचित्र ‘एक लड्कीको देखा तो ऐसा लगा’ बाट उनको सिनेमा निर्माण कम्पनी ‘राजकुमार हिरानी फिल्मस्’ को नाम हटाइएको छ ।

प्रतिक्रिया