शुक्लाफाँटामा सात सय पर्यटक

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आवको चार महिनामा ७ सय ६० जना पर्यटकले अवलोकन गरेका छन् । चालु आवको असोजदेखि पुस महीनासम्म स्वदेशी ६ सय ८६, सार्क मुलुकका ३७ र विदेशी ३७ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव ०७४/७५ को असार मसान्तदेखि चालु आवको भदौ मसान्तसम्म चार हजार २ सय ८१, सार्क मुुलुकका २ सय ६६ र विदेशी १ सय ९३ जना गरी चार हजार ७ सय ४० जना पर्यटकले अवलोकन गरेका थिए । निकुञ्जको प्रचारप्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढावाका लागि गरिएका प्रयासले पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए । निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसे मैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिंगे गैँडा, हात्ती, बाह्रसिंगा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, खरायो र विभिन्न प्रजातिका चरा पर्ने गर्दछन् ।

एकपटक निकुञ्ज घुम्न आउने पर्यटक दोहो¥याएर घुम्नका लागि पुग्ने गरेको चौधरी बताउँछन् । उनका अनुसार दैनिक सात जनादेखि १० जना बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिंगाको सबैभन्दा ठूलो बथान र दुर्लभ पशुपंक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ । नेपालको तराईका संरक्षित क्षेत्रमा रहेको घाँसे मैदानमध्ये शुक्लाफाँटा घाँसे मैदान सबैभन्दा ठूलो घाँसे मैदानका रूपमा रहेको छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँंगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानी ताल, सिहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गे पुल, कालिकिच ताल, निकुञ्जभित्रका सीमसार क्षेत्र र राना थारु घरवासलगायत रहेका छन् । चालु आवको साउनदेखि पुसको हालसम्म गरी निकुञ्जले झण्डै ३३ लाख राजश्व समेत संकलन गरेको छ । निकुञ्जले निकुञ्ज प्रवेश दस्तुर, हात्ती सफारी, दण्ड जरिवाना, सवारी दस्तुर, ढुंगा, बालुवा निकासी, चरिचरन दण्ड जरिवाना, बोलपत्र आह्वान, काठ बिक्री र खर खडाइवापत राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया