न्यु डायमन्डको मैदानमा एपिएफलाई उपाधि

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा एपीएफले साविकको विजेता तथा आयोजक न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । यससँगै एपीएफले फाइनलमा भोगेको हारको बदला लिएको छ । एपीएफको सिजनको यो छैटौ उपाधि हो ।

यसअघि एपीएफले शेर बहादुर खड्का स्मृति खुल्ला महिला भलिल प्रतियोगिता, सभामुख कप भलिबल प्रतियोगिता, एनभिए क्लब लिग च्याम्पियनसिप तीज कप पोखरा र बागलुङमा भएको एनभिए महिला भलिबल लिगको उपाधि जितेको थियो । यता, न्यु डायमण्ड भने फाइनलमा लगातार एपीएफसँग चुक्यो । सभामुख कपबाहेक सबै प्रतियोगितामा न्यु डायमण्ड फाइनलमा एपीएफसँगै पराजित हुन पुग्यो ।

घरेलु मैदानमा न्यु डायमण्डले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै खेलमा अग्रता बनाएको थियो । तर, त्यसपछिको तीनै सेट डायमण्डले गुमाउन पुग्यो । दोस्रो सेट न्यु डायमण्डले २१–२५ ले गुमाएपछि खेल १–१ को सेटको बराबरीमा पुगेको थियो रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा एपीएफ २५–२३ ले विजयी भएपछि एपीएफले खेलमा २–१ को अग्रता बनायो । चौथो सेटमा एपीएफ २५–१८ ले सहजै विजयी हुन सफल भयो । यसअघि शनिबारै विभागीय नेपाल पुलिस क्लबले टप्स मावि पोखरालाई २५–११, २५–२१ र २५–१४ ले पराजित गर्दै तेस्रो स्थान हात पार्न सफल भयो ।

च्याम्पियन बनेसँगै एपीएफले ३ लाख १ हजार रुपैयासहित शिल्ड र मेडल प्राप्त ग¥यो दोस्रो भएको न्यु डायमण्डले २ लाख १ हजार रुपैयामा चित्त बुझायो । तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख १ हजार तथा चौथो भएको टप्सले ५१ हजार रुपैया हात पा¥यो । विजयी टिम तथा खेलाडीलाई सभामुख कृष्ण बहादुर महरा, संसद कृष्णगोपाल श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ र न्यु डायमण्ड स्पोर्टस् क्लबकी अध्यक्ष सुनकेशरी माली लगायतले पुरस्कृत गरे । गत बुधबारबाट सुरु भएको राउन्ड रोविन लिगको आधारमा भएको प्रतियोगितामा विभिन्न ८ टोलीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया