बसले किचेर १५ बर्षीय किशोरको मृत्यु

दमौली । तनहुँमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको बन्दीपुर गाउँपालिका ४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग १ ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । थापाको उपचारको क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ठक्कर दिने बस र बाबु प्रहरी नियन्त्रणमा रहेका छन् ।

वृद्ध मृतावस्थामा फेला

तनहुँको बन्दीपुर गाउँपालिका १ नाहालामा बिहीबार राति एक वृद्ध मृतावस्थामा फेला परेका छन् । हरियाली कृषक समूह भवनको पेटीमा अन्दाजी ६०-६५ वर्षीय टेकबहादुर विक मृतावस्थामा फेला परेका हुन् ।

धादिङ घर बताउने विक विगत पाँच-छ दिनदेखि डुम्रे बजार आसपास मागी खाई हिँड्ने गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरार प्रतिवादी पक्राउ

तनहुँ अदालतबाट कैद तोकिएका एक जनालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । घरमा आगो लगाएको मुद्दामा तनहुँ शुक्लागण्डकी नगरपालिका ९ का ५० वर्षीय आइत भन्ने ठगबहादुर कमर जोगी पाँच वर्षपछि पक्राउ परी बिहीबार कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए ।

सो अभियोगमा जिल्ला अदालतले जोगीलाई पाँच वर्ष कैद फैसला गरेको थियो । विसं २०७० मा सोही वडाका इन्द्रप्रसाद वाग्लेको घरमा आगो लगाएको अभियोगमा जोगी फरार रहेका थिए । तनहुँ प्रहरीले पछिल्लो समयमा अदालतबाट कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान नै सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया