ट्रम्पले विपक्षीलाई भने ‘बाई..बाई..’

एजेन्सी, वासिंगटन । अमेरिकी सरकारी खर्चबन्दी जारी रहेको वेला विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँग भएको बैठकको कक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्प अचानकबाहिर निस्किएपछि वार्ता निष्कर्षहीन बन्न पुगेको छ । प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी र अर्का विपक्षी नेता चक सुमरले मेक्सिको अमेरिका सिमानामा प्रस्तावित पर्खालका लागि बजेट थप्न अस्वीकार गरेपछि रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति चुनिएका ट्रम्पले वार्ता तोडिदिएका हुन् ।

राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूसँगको बैठकलाई, उनकै शब्दमा, ‘समय खेर फाल्ने कार्य’ भनेका छन् । सरकारी खर्चबन्दी सुरु भएपछि करिब ८ लाख संघीय कर्मचारीहरू यो साता पहिलोपटक बेखर्ची बन्न गइरहेका छन् । बैठकपछि सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै ट्रम्पले आफूले डेमोक्र्याट नेताहरूलाई ‘बाई बाई’ अर्थात् टाटा भनेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘चक र न्यान्सी सहभागी बैठकमा समय पूरै खेर गयो । मैले सोधेँ ३० दिनमा के होला ? यदि, मैले सरकारी खर्च फेरि खोलिदिएँ भने के सिमानामा स्टिलको पर्खाल बनाउनका लागि बजेट छुट्याउन अनुमति दिनुहुन्छ ?’

तर, सकारात्मक प्रतिक्रिया नआएकोले आफू बैठकबाट बिदा भएको उनले बताए । उनको भनाइमा उनीसँग त्यसो गर्नुभन्दा दोस्रो कुनै विकल्प थिएन । ह्वाइट हाउसबाहिर दुवै पक्षका नेताहरूले गतिरोध लम्बिनुको दोष एकअर्कोलाई लगाइरहेका थिए । प्रतिनिधि सभाकी सभाभुख न्यान्सी पेलोसीले कर्मचारीको खर्च बन्द गर्ने कदमले ट्रम्पलाई ‘ठूलो क्षति’ पुगेको प्रतिक्रिया दिइन् । डेमोक्र्याटिक नेता सुमरले बैठकबारे भने, ‘उनले सभामुख न्यान्सीलाई सोधे तपाईँहरू सहमत हुनुहुन्छ । उनले भनिन् छैनौँ । त्यसपछि उनी उठे र बैठकको कुनै अर्थ छैन भन्दै हिँडे । उनले फेरि रिस र घुर्की देखाए ।’

ट्रम्पले सिमानामा स्टिलको पर्खालका लागि ५ दशमलव ७ अर्ब डलर माग गरेका छन् । त्यसले उनको चुनावी वाचालाई पूरा गर्न मद्दत गर्दछ । तर, डेमोक्र्याटहरूले त्यसलाई अस्वीकार गरिरहेका छन् ।

प्रतिक्रिया