सेखहरूको सोख, नम्बर प्लेटका लागि करोडौं खर्च


एजेन्सी, दुबई । दुबई एउटा विशेष सहर हो । यहाँका महलहरू विशेष छन्, सडक पनि विशेष छन् । यो शान र औकात देखाउने सहर हो । यहाँका धनीमानी सेखहरू महँगा र विलासी वस्तुका सौखिन छन् । दुबईका सडकमा सुपर लग्जरी गाडीहरू आवाज निकालेर कुदिरहेका हुन्छन् । सीमित संख्यामा निर्माण हुने (लिमिटेड एडिसन) कारहरूको मूल्य करोडौं पर्छ ।

कारको मूल्य करोडभन्दा बढी पर्नु आधुनिक समयमा ठीकै मान्न सकिएला, तर ती केही विशेष कारमा प्रयोग गरिने नम्बरप्लेटमा नै लाखका साथै करोड खर्च गरिने कुराले भने जोकोहीलाई आश्चर्यचकित पार्छ । दुबईका सौखिनहरू अत्यन्तै पृथक लाइसेन्स प्लेट प्रयोग गर्छन्, कार त झनै विशेष हुने नै भयो ।

आफ्नो कार सडक कुद्ने अन्य कारभन्दा फरक देखाउन उनीहरू लाइसेन्स प्लेटमा अधिक रकम खर्च गर्ने गर्छन् । त्यस्तो प्लेट बनाउनेले जति रकम मागे पनि सौखिन सेखले त्यो तिर्ने गरेका छन् । यस्तोखाले फेन्सी नम्बर पाउन त्यहाँ बढाबढ (रकम) हुने गर्छ । सेखहरू त्यस्तो बढाबढमा भाग लिन्छन् र सबैभन्दा बढी पैसा तिर्छन् । भिआइपी नम्बरका लागि हुने बढाबढबाट सरकारलाई करोडौं आम्दानी हुने गरेको छ ।

३५ वर्षका मोहम्मद अल–मर्जुकी भिन्टेज कारका सौखिन हुन् । उनले आफ्नो कारमा विशेष नम्बर लिनका लागि करोडौं खर्च गरेका छन् । अल–मर्जुकीसँग महँगा गाडीहरूको लस्कर नै छ । उनले ११ वटा विशेष नम्बरप्लेट लिएका छन, उनी आफू चारवटा कार प्रयोग गर्छन् । ती कारहरूको लाइसेन्स प्लेट विशेष छ ।

रातो रङको उनको फेरारी कारको नम्बर ८८८८ रहेको छ । उनी भन्छन्, ‘यसका लागि मैले १ करोड ६३ लाख ३ सय ७६ डलर खर्च गरेँ ।’ र, उनले लिएको एउटा नम्बर प्लेटमा पाँचवटा ८ रहेको छ । यो लाइसेन्स प्लेट खरिद गर्न अल–मर्जुकीले २ लाख ४५ हजार ६४ डलर खर्च गरेका थिए । उनलाई ८ नम्बर खुबै मनपर्छ । उनी चाहन्छन्, आफ्ना हरेक गाडीमा कुनै न कुनै रूपमा ८ आउनुपर्छ ।

प्रतिक्रिया