उँटको पिठ्युँदेखि अमेरिकाको विश्वविद्यालयसम्म

 

एजेन्सी, पाकिस्तान । उनको उमेर त्यस्तै पाँच वर्षजति, उनैको काँधमा रोजगारीको बोझ आइप¥यो । उनलाई संयुक्त अरब इमिरेट लगियो । जहाँ उनले उँटको दौडमा सवारको काम गर्थे । कँुदिरहेको उँटको पिठमा बसेर त्यो पाँच वर्षको बालकले जम्माजम्मी १६ (नेरु) हजार रूपैयाँ कमाउँथे । कमाएको पैसा उनी घर पठाउँथे ।

आजभन्दा झण्डै तीन दशकअघि अर्थात् सन् १९९० मा त्यो पैसालाई धेरै नै मान्न सकिन्थ्यो । १९९५ मा संयुक्त राष्ट्रको युनिसेफले उँटको दौडमा सामेल हुने सयौँ बालकलाई मुक्त ग¥यो । यहाँ चर्चा गर्न लागिएका ती बालक त्यसपछि पाकिस्तान फर्किए । र, पढाइलाई निरन्तरता दिन थाले । आर्थिक अवस्था सुध्रिएको थिएन, यसैकारण ती बालकले सानोतिनो काम गर्न थाले ।

फोहोर सफा गर्नेदेखि उनले रिक्सा चलाउनेसम्मको काम गर्न थाले र आफ्नो पढाइ खर्च आफैँ जुटाउन थाले । सन् २०१७ मा उनी नौजवान भइसकेका थिए । त्यसैवेला अमेरिकी सरकारद्वारा दिइने फेलोसिपअन्तर्गत उनी वासिंगटन कलेज अफ ल पुगे । कानुन तथा मानवाधिकारसम्बन्धी पढाइ सकेर उनी गत वर्ष पाकिस्तान फर्किए । उनी अहिले गरिब बालबालिकाको शिक्षाका लागि काम गरिरहेका छन् ।
यो कथा हो, पाकिस्तानका अल्पसंख्यक हिन्दू समुदायका युवा रमेश जयपालको । पञ्जाब प्रान्तको सहर रहिमयार खानदेखि केही किलोमिटर टाढा लियाकतपुरमा एउटा सानो गाउँ छ । त्यही गाउँमा त्रिपालमुनि राखेर उनले बच्चाहरूका निम्ति सानो विद्यालय चलाउने प्रयास गरेका छन् ।

चोलिस्तानस्थित खुला हावामा बनेको यस विद्यालयमा बसिरहेका रमेशले बिबिसीसँग भने, ‘शिक्षा हासिल गर्ने लत मलाई अरबको रेगिस्तानमा उँटको सवार बनिरहेका वेला नै लागेको थियो ।’ आफ्नो पढाइमा थुप्रैपटक रोकावट आएको उनले बताए । ‘तर, मैले टुक्राटुक्रा गरेरै भए पनि आफ्नो पढाइ जारी राखेँ,’ रमेशले भने ।

सन् १९८० ÷ ९० को दशकमा १० वर्षभन्दा पनि कम उमेरका बालकहरूलाई उँटको दौडमा प्रयोग गरिन्थ्यो । अरब देशमा कायम यस्तो परम्परामा दौडमा सामेल उँटको माथि बच्चा राखिन्थ्यो र बच्चा जति धेरै रोयो त्यति नै उँट तीव्र गतिमा दौडन्थ्यो । यही कारण उँटको दौडमा बच्चाको प्रयोग गर्ने गरिन्थ्यो । उँट मालिकहरूले गरिब देशबाट सहजै बच्चा ल्याउने गर्थे । पाकिस्तानको बहावलपुर, रहिमयार खान, खानिवाल तथा दक्षिण पञ्जाबका कतिपय क्षेत्रका बच्चा उँट दौडमा प्रयोग गरिन्थे ।

रमेश आफ्ना एकजना बेरोजगार मामाका साथ इमिरेटको अल–ऐन सहर पुगेका थिए । त्यस्ता व्यक्तिलाई सहजै रोजगारी दिइन्थ्यो, जोसँग १० वर्ष हाराहारीका बालक छन् । रमेशले धेरैपटक पाकिस्तान फर्कने प्रयास गरे, तर उनको पासपोर्ट मालिकसँग हुन्थ्यो । पाँच वर्षपछि सन् १९९५ मा जब युनिसेफले उँट दौडमा बच्चाको प्रयोगलाई प्रतिबन्ध लगाइदियो तब रमेशलगायत सयौँ बालकले मुक्ति पाए ।

रमेशले पाकिस्तान फर्किएपछि पनि धेरै दुःख गरे । विस्तारै उनले एसएलसी उत्तीर्ण गरे । थुप्रै पटक पढाइ रोकियो उनको, तर उनले हार मानेनन् । उनले एडिमनिस्ट्रेसनमा डिप्लोमा गरे अनि ग्राजुएसन पनि सके । खैरपुर युनिभर्सिटीबाट पहिला समाजशास्त्र र पछि ग्रामीण विकासमा उनले स्नातकोत्तर उत्तीर्ण गरे । अंग्रेजी कमजोर हुनाले उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अंग्रेजी कोर्स गरे, त्यसपछि ‘वासिंगटन कलेज अफ ल’ बाट कानुन र मानव अधिकारको शिक्षा हासिल गरे ।

प्रतिक्रिया