हिन्दी दिवसमा काव्य गोष्ठी

काठमाडौं । विश्व हिन्दी दिवसको अवसर पारेर विविध सांस्कृतिक कार्यक्रम एवं कवि गोष्ठी आयोजना गरिएको छ । त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभाग र भारतीय राजदूतावासको सहकार्यमा राजधानीमा भएको उक्त कार्यक्रममा गोपाल ठाकुर तथा गुरूदेव कामतद्वारा हिन्दीका प्रख्यात कविका कृतिहरूको सांगीतिक प्रस्तुति एवं कविता वाचन गरिएको थियो ।

यसैगरी गायिका सरस्वती खत्रीद्वारा साङ्गीतिक काव्य प्रस्तुत गरिन् । सोही कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभाग, वेभसाइटको शुभारम्भ समेत गरिएको छ । नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले विश्व हिन्दी दिवसका अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाचन गर्दै हिन्दीलाई विश्व भाषा बनाउने प्रयास भइरहेको जानकारी दिए ।

उक्त अवसरमा कार्यक्रममा आदिकवि भानुभक्त आचार्यका कविताको हिन्दी अनुवाद (गोपाल अश्कद्वारा) सहित विनोदकुमार मिश्रद्वारा लिखित ‘विश्व हिन्दीयात्रा’ कृतिको लोकार्पण गरिनाका साथै नेता अटलबिहारी बाजपेयीका ५१ कविताको नेपालीमा अनुवाद गरेका लेखक शिवदत्त ढकाललाई सम्मान गरिएको थियो ।

कविगोष्ठीमा ऋषभदेव घिमिरे, मदन लम्साल, डा प्रदीप ढकाल, डा राजेश अहिराज, श्याम रिमाल, राधेश्याम लेकाली, अमरेन्द्र यादव, रुद्र अधिकारी, मञ्जुश्री प्रधान, श्वेता दीप्ति, वन्दना झालगायतले नेपाली र हिन्दी भाषामा कविता वाचन गरेका थिए । विश्वका २२ देशमा करिब एक अर्ब मानिसले हिन्दी भाषा बोल्ने बताइएको छ ।

प्रतिक्रिया