खप्तड गोल्ड कप : च्यासल अन्तिम आठमा

काठमाडौं । भ्याली च्यासल युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको पाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको प्रि क्वाटरफाइनलमा दिल्ली फुटबल क्लबलाई ६–० गोल अन्तरले हराएर च्यासलले अन्तिम आठको यात्रा तय गरेको हो ।

धनगढी रंगशालामा च्यासललाई जित दिलाउन विदेशी खेलाडी अर्मान्ड मोएनले ह्याट्रिक गरे । यस्तै सन्जोग राई, हेमन्त थापा मगर र सन्त बहादुर गुरुङले एक एक गोल गरे । दिल्लीविरुद्ध एकतर्फी खेल खेलेको च्यासलले १४ औं मिनेटमा सन्जोग राईको गोलबाट अग्रता बनाएको थियो । ३१ औं मिनेटमा हेमन्त थापामगरले २५ यार्ड टाढाबाट गर्दै च्यासलको अग्रता २ – ० को बनाए । खेलको ४० औं मिनेटमा अर्मान्डले गोल गर्दा च्यासल ३ – ० ले अघि रह्यो ।

पहिलो हाफमा ३ – ० गोल अन्तरले अघि रहेको च्यासलले दोस्रो हाफमा थप तीन गोल गर्यो । ६१ औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई ४–० ले अगाडी बढाए । ७३ औं मिनेटमा अर्मान्डले गोल गर्दै ह्याट्रिक पुरा गर्दा च्यासल ५–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा सन्त बहादुरले गोल गर्दै च्यासललाई ६–० को जित दिलाए । जितसँगै च्यासलले क्वाटरफाइनलमा रुस्लान थ्री स्टारसंगको भेट पक्का गरेको छ । प्रतियोगिता अन्तर्गत शुक्रबार रूपन्देहीको गोर्खा ब्वाइजले काठमाडौंको सीएमजी क्लब संकटाको सामना गर्नेछ ।

प्रतिक्रिया