साउदी युवतीलाई ‘शरणार्थीको मान्यता’

बैकक । इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै भागेर थाइल्यान्ड पुगेकी साउदी युवतीलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको अस्ट्रेलिया सरकारले जनाएको छ ।

अठार वर्षीया रहफ मोहम्मद अल–कुकुनले केही गत सप्ताहान्तदेखि संयुक्त राष्ट्रसंघ र विभिन्न देशसँग आफूलाई शरण दिन आग्रह गरिरहेकी थिइन् । शरण खोज्न कुवेतबाट भागेर अस्ट्रेलिया जान लागेकी उनलाई थाइल्यान्डको विमानस्थलमा नियन्त्रणमा लिइएको थियो ।

थाई अध्यागमनको नियन्त्रणमा परेपछि ट्विटरबाट उनले आफू र त्यहाँ भएका घटनाक्रमबारे अविच्छिन्न रूपमा जानकारी दिन थालिन् र पूरै विश्वको ध्यान आकर्षित गरिन् । थाई अधिकारीहरूले सोमबार उनलाई कुवेत फिर्ता पठाउने प्रयास गरेका थिए । तर, आफू असुरक्षित भएको भन्दै उनले नजाने अडान लिएकी थिइन् ।

सोमबार साँझ उनलाई संयुक्त राष्ट्रसंको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीएचआरको संरक्षकत्वमा सुवर्णभूमि विमानस्थलबाट बाहिर जाने अनुमति दिइएको थियो । यूएनएचसीएचआरले ती युवतीको मागबारे विचार गर्न अस्ट्रेलियालाई औपचारिक सिफारिस गरेको थियो ।

अस्ट्रेलिया सरकारको डिपार्ट्मेन्ट अफ होम अफेअर्सले एउटा विज्ञप्ति प्रकाशित गर्दै सो सिफारिसलाई नियमित तरिकाले हेर्ने जनाएको छ । तर सरकारले सो विषयमा थप टिप्पणी नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

यूएनएचसीएचआरको थाईल्यान्डस्थित कार्यालयले पनि प्रतिक्रिया दिन मानेन । रहफ मोहम्मद अल–कुकुनले यसबारे सामाजिक सञ्जालमा केही लेखेकी छैनन् । तर, उनलाई ट्विटर चलाउन सघाउने उनकी साथीले भने अर्थपूर्ण रूफमा ’हामी विजयी भयौँ’ भन्ने आशयको ट्विट गरेकी छन् ।

प्रवेशाज्ञा दिनुअघि मोहम्मद अल–कुकुनको चरित्र र सुरक्षाबारे परीक्षण हुने बताइएको छ । यसअघि अस्ट्रेलियाका वरिष्ठ अधिकारीहरूले उनको शरणको मागलाई स्वीकार गरिने संकेत दिइसकेका थिए ।

संयुक्त राष्ट्रसंघको धारणा सार्वजनिक हुनुअघि समाचारसंस्था एबीसीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री ग्रेग हन्टले यदि उनी शरणार्थी भएको पाइए उनलाई मानवीय सम्वेदनाका आधारमा दिइने प्रवेशाज्ञा प्रदान गर्न सकिने बताएका थिए ।

साउदी अरबमा धर्म परित्याग गर्दा मृत्युदण्ड दिने कानुनी प्रावधान पनि छ । उनका पिता साउदी अरबको उत्तरी प्रान्त हइलस्थित अल–सुलाइमी नगरका गभर्नर हुन् । उनी परिवारका अर्का एक सदस्यसहित थाईल्यान्ड पुगेका छन् ।

तर रहाफ मोहम्मद अल–कुकुनले तिनलाई भेट्न अस्वीकार गरेकी छन् । उनको परिवारका एक प्रवक्ताले बिबिसीलाई सो विषयमा कुनै प्रतिक्रिया नदिने जनाएको छ । परिवार मोहम्मद अल–कुकुनको सुरक्षाबारे चिन्तित भएको उनको भनाइ छ ।

प्रतिक्रिया