इस्लाम त्याग्दा ज्यानै जोगाउन गाह्रो

बैंकक । थाइल्यान्डको बैंककस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएकी एउटी साउदी युवतीले आफ्नो जीवन असुरक्षित भएको भन्दै फर्किन अस्वीकार गरेकी छन् । थाइ अध्यागमन अधिकारीहरू १८ वर्षीया रहाफ मोहम्मद अल–कुकुनलाई उनको कुवेत पठाउने प्रयास गरेका थिए । उनको परिवार हाल कुवेतमा छ ।

उनलाई चढाएर पठाउन लागिएको कुवेत जाने विमान नउडुन्जेल मोहम्मद अल–कुकुन विमानस्थलस्थित होटलको एउटा कोठा थुनेर बसिन् । आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल–कुकुनले बिबिसीलाई बताएकी छन् । महिलालाई समान अवसर नदिइने भएकाले धर्म परित्याग गरेको उनको भनाइ छ ।

आफ्नो परिवारले मार्ने धम्की दिएको भन्दै उनले समाचारसंस्था रोयटर्सलाई भनिन्, ‘मेरा दाजुभाइ र परिवार एवं साउदी दूतावासले मलाई कुवेतमा कुरिरहेका छन् । उनीहरूले मलाई मार्छन् । मेरो जीवन संकटमा छ ।’ उनलाई कुवेत पठाउन भनेर थाइ अधिकारीहरू उनको कोठाबाहिर उभिइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

मानवाधिकारवादी संस्थाहरूले उनको सुरक्षाबारे चासो व्यक्त गरेका छन् । ह्युमन राइट्स वाच एशिया क्षेत्रका सहायक निर्देशक फिल रोबर्ट्सनका अनुसार संयुक्त राष्ट्रसंघको शरणार्थी हेर्ने निकायसँग भेट्न र शरण माग्न नदिइएसम्म कोठाबाट बाहिर नआउने उनको अडान छ ।

समय थोरै भएको र उनी डरलाग्दो परिस्थितिमा रहेको भन्दै रोबर्ट्सनले ती युवतीलाई कुवेत फिर्ता नपठाइयोस् भनेर निषेधाज्ञाका लागि बैंककको एउटा अदालतमा आवेदन गरिएको बताए । तर थाइ वकिलहरूको सो आवेदन अदालतले खारेज गरिदियो ।

परिवारसँगै बिदा मनाउन कुवेत पुगेकी रहाफ मोहम्मद अल–कुकुन दुई दिनअघि त्यहाँबाट भागेकी हुन् । बैंकक हुँदै अस्ट्रेलिया जाने उनको प्रयास थियो । आफूले इस्लाम धर्म परित्याग गरेको हुनाले बलपूर्वक साउदी अरेबिया फर्काएर परिवारले आफ्नो हत्या गरिदिन सक्ने त्रास भएको रहाफ मोहम्मद अल–कुकुनले बिबिसीलाई बताएकी छन् ।

बैंककबाट बिबिसीका जोनाथन हेड भन्छन्, ‘रहाफ मोहम्मद अल–कुकुन त्रस्त र व्याकुल छिन् । आफूसँग अस्ट्रेलिया जाने प्रवेशाज्ञा भएको तर सुवर्णभूमि विमानस्थलमा आफूलाई भेट्ने एक साउदी कूटनीतिज्ञले राहदानी खोसेको उनको दाबी छ ।’
तर, साउदी अधिकारीहरूका अनुसार राहदानी उनीसँगै छ र फर्किने हवाई टिकट नभएकाले उनलाई नियन्त्रणमा लिइएको हो । अस्ट्रेलियामा

शरण पाइने उनको अपेक्षा थियो । ह्युमन राइट्स वाचका मध्यपूर्वका सहायक निर्देशक माइकल पेजले एउटा विज्ञप्तिमा ‘परिवार छोडेर भागेका साउदी महिलाले उनीहरूको इच्छाविपरीत फर्किए आफ्नै नातेदारबाट कठोर हिंसा, स्वतन्त्रताको अपहरण र अन्य गम्भीर हानि खेप्नुपर्ने हुन्छ’ भनेका छन् ।

बैंककस्थित साउदी दूतावासले रहाफ मोहम्मद अल–कुकुनलाई ‘फिर्ती टिकट नभएकाले’ विमानस्थलमा समातिएको र उनलाई उनका परिवारजन बसेको ठाउँ कुवेत फर्काइने जनाएको छ । साउदी अधिकारीहरूसँग उनलाई बैंककस्थित विमानस्थल वा अन्यत्र समात्ने अधिकार नभएको दूतावासको एउटा विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीहरू उनका पिताको सम्पर्कमा भएको उसले जनाएको छ । थाइ प्रहरीका एक वरिष्ठ अधिकारीले बिबिसीलाई बताएअनुसार ती युवती विवाह गर्न नमानेर भागेकी हुन् । मेजर जेनरल सुरचाते हक्पर्नका अनुसार रहाफ मोहम्मद अल–कुकुनसँग थाइल्यान्डको प्रवेशाज्ञा नभएकाले प्रहरीले उनलाई थाइल्यान्डमा प्रवेश नदिएको र उनी आएकै कुवेत एअर्वेजमार्फत फिर्ता गर्ने प्रक्रिया थालिएको थियो । तर, राहदानी खोसिएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताएका छन् ।

स्थानीय समयानुसार दिउँसो ४ बजे हक्पर्नले संवादाताहरूलाई ती युवतीको सुरक्षाको चासोका कारण उनलाई कुवेत फिर्ता पठाउने योजना रद्द गरिएको बताए । थाइ समाचार वेवसाइट खाओसोडका अनुसार उनले भने, ‘यदि, फिर्ता पठाउँदा उनको ज्यान जान्छ भने हामी पक्कै पनि त्यसो गर्दैनौँ ।’

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरसँग सोमबार नै भेटेर रहाफ मोहम्मद अल–कुकुनबारे कुरा गर्ने उनले बताए ।

प्रतिक्रिया