बालबालिकालाई मन्टेश्वरी शिक्षा आवश्यक

बाँके । बाँकेबाट निर्वाचित प्रदेशसभा सांसद नमुना केसीले ससाना बालबालिकाको भविष्य निर्माणका लागि मानसिक र वौद्धिक विकास गर्न मन्टेस्वरीले दिने वस्तुगत र व्यावहारिक ज्ञान र शिक्षा प्रदान गर्ने वातावरण हरेक अभिभावकले दिन आवश्यक भएको बताएकी छन् ।

बाँके जिल्लामा रहेका मन्टेस्वरीको संगठन मन्टेस्वरी एसेसियसनको प्रथम वार्षिकोत्सव उद्घाटन गर्दै सांसद नमुनाले सो कुरा बताएकी हुन् । देशको भोलिका कर्णधार आजका बालबालिकाको सुनौलो भविष्य निर्माण गर्ने महत्वपूर्ण सामाजिक दायित्व बहन गरिरहेको मन्टेश्वरीको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि राज्यले पनि सहजीकरण गर्नु आवश्यक रहेको कुरामा उनले जोड दिइन् । वस्तुगत ज्ञानले नै चेतनाको विकास गर्छ भन्ने उदाहरण मन्टेश्वरी शिक्षाले दिएकोमा सांसद केसीले सराहना गरिन् ।

एसोसिएसनका अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थामा आवद्ध बाँकेका नौ वटा मन्टेश्वरीमा बालबालिका लागि दिइने फरकफरक वस्तुगत र व्यावहारिक शिक्षा विधिको डकुमेन्ट्री पनि प्रस्तुत गरिएको थियो र सोको व्याख्या कोषाध्यक्ष खिमा थापा र सदस्य नीता थैवले गरेकी थिइन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार पूर्णलाल चुके, सेन्ट्रल प्लाजा होटेलका सञ्चालक देवानन्द अर्याल, दामोदर पौडेल, एशोसिएसनका उपाध्यक्ष दुर्गा बजगाइँ लगायतले मन्टेश्वरी शिक्षाको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए ।

एशोसिएसनका अध्यक्ष लुना बुढाथोकीले कार्यक्रममा इटालीमा जन्मेकी स्वर्गीय डा. मारिया मन्टेश्वरीको व्यावहारिक तथा वस्तुगत मन्टेश्वरी शिक्षा विधिको अवधारणा अनुरुप सुरु पारिएको मन्टेश्वरी विश्वव्यापीरूपमा लोकप्रिय हुँदै गएको र बाँके जिल्लामा ०६६ सालदेखि मात्र सुरु भएको जानकारी दिइन् ।

नौ वटै मन्टेश्वरीका बालबालिकाले गीत, रोचक नृत्यका साथै आआफ्ना प्रतिभा प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाएका थिए र कार्यक्रममा सयौँ अभिभावक आआफ्ना बालबालिकाका साथ सहभागी थिए ।

प्रतिक्रिया