बालमैत्री वातावरणले विद्यार्थी संख्यामा वृद्धि

बझाङ । विद्यालयमा बालमैत्री वातावरण सिर्जना भएपछि जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ मा रहेको श्री लक्ष्मी प्रावि पितरगडाको विद्यार्थी संख्या आजकल निकै वृद्धि भएको छ । बालमैत्री कक्षाकोठा, बालमैत्री धारा र शौचालय निर्माण भएपछि उक्त विद्यालयको विद्यार्थी संख्या आजकल बृद्धि भएको हो ।

विगत वर्षमा विद्यार्थीलाई बस्ने ठाउँको अभाव खानेपानीको अभाव र खेलमैदानको अभावका कारण लक्ष्मी प्राविको विद्यार्थी संख्या निकै घट्दो क्रममा रहेको थियो । विगतको समस्यालाई मध्यनजर गर्दे आजकाल लक्ष्मी प्राविले विद्यालयको नमुना बदलेको देखिन्छ । जसका कारण लक्ष्मी प्राविको विद्यार्थी संख्या आजकाल विगतभन्दा दोब्बर रूपमा वृद्धि भएको छ ।

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा आइडियस नेपालद्वारा सञ्चालित विद्यालय सरसफाई कार्यक्रमले यतिखेर लक्ष्मी प्राविमा बालमैत्री संरचना निर्माण गरेको छ । विद्यालय सरसफाइ कार्यक्रमले लक्ष्मी प्राविमा बालमैत्री टिपी ट्याप धारा, फोहोर फाल्ने खाडल र विद्यार्थीलाई बस्न कक्षाकोठामा कार्पेटको व्यवस्था गरिदिएपछि विद्यार्थी संख्यामा वृद्धि भएको लक्ष्मी प्राविका शिक्षक पुष्पराज जोशीले बताए ।

उनले भने, ‘बालमैत्री वातावरण निर्माण नहुदा मुस्किलले ५० जना विद्यार्थी भर्ना हुन्थे आजकाल बालमैत्री वातावरण सिर्जना हुँदा बढेर ८७ जना विद्यार्थी पुगेका छन् । कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ ।

बालमैत्री वातावरण सिर्जना गरिएको सो विद्यालयमा विश्व खाद्य कार्यक्रमले दिवा खाजाको समेत व्यवस्था गरेको छ । लक्ष्मी प्राविलाई बालमैत्री विद्यालय बनाउन विद्यालय सरसफाई कार्यक्रमको सहयोग अझै निरन्तर रहने विद्यालय सरसफाई कार्यक्रम जिल्ला संयोजक रमानन्द जोशीले जानकारी दिए ।

विद्यार्थीलाई पठनपाठनका लागि सो विद्यालयमा काष्ठकलामा निर्माण गरिएका पाठ्यसामग्रीद्वारा पठनपाठन पनि गरिन्छ । छविसपाथिभेरा गाउँपालिकामा रहेका अधिकांश प्रावि विद्यालय मध्येकै नमुनाको रूपमा रहेको सो विद्यालयको बाह्य वातावरण निकै रमणीय देखिन्छ ।

प्रतिक्रिया