सहयोगीको भरमा विद्यालय

बाजुरा । जिल्लाको बुढीनन्दा नगरपालिकाभरिमा आधारभूत र माध्यमिक गरी ३० वटा सामुदायिक विद्यालय छन् । यी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या ७ हजार १ सय ९ रहेको छ । शिक्षा नीतिले ४० जना विद्यार्थी बरावर एक शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ ।

विद्यार्थीको अनुपातका आधारमा नगरपालिकाभरिका विद्यालयमा शिक्षकहरूको संख्या १ सय ७८ जना हुनुपर्ने हो । तर, हाल शिक्षकहरूको संख्या जम्मा १ सय २३ जना छन् । नगरपालिकाका अधिकांश विद्यालयमा विद्यार्थीको अनुपातमा विद्यार्थी नभएपछि कतै कार्यालय सहयोगीले समेत शिक्षण गरिरहेका छन् भने कतै अभिभावकले आफ्नो खर्च कटाएर शिक्षक पालिरहेका छन् ।

बुढीनन्दा नगरपालिका–८ मा पर्ने ऋषिदेव आधारभूत विद्यालयमा १ सय ३२ जना विद्यार्थी छन् । तर, शिक्षक दरबन्दी एक जना पनि छैनन् । अनि कार्यालय सहयोगी मनबहादुर बुढाले सो विद्यालय चलाएका छन् ।

त्यस्तै वडा–७ को सागरकोट आधारभूत विद्यालयमा एक जना शिक्षकले १ सय ७४ जना विद्यार्थीलाई पढाउने गरेका छन् । भने, वडा–४ को भावना आभारभूत विद्यालयमा कक्षा आठसम्म पढाइ हुन्छ दुई जना शिक्षकले २ सय ५९ जना विद्यार्थीलाई पढाउनु पर्दछ ।

त्यस्तै वडा–३ को मदन–आश्रित विद्यालयमा पनि १ सय ७ जना विद्यार्थीलाई पढाउने एक जना मात्र शिक्षक रहेका छन् भने सोही वडाको जनविकास आधारभूत विद्यालयमा कक्षा आठसम्म पढाउने शिक्षक दुई जना र कालिका आधारभूत विद्यालयको कक्षा आठसम्म पढाउने जम्मा तीन जना शिक्षक छन् ।

नगरपालिकाभरिका एक÷दुई विद्यालयवाहेक अन्य कुनै पनि विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षकको दरबन्दी नहँुदा शैक्षिक उपलब्धी पनि न्यून रहेको शिक्षा तथा खेलकुद शाखाप्रमुख रंगमल विकले बताए । नगरपालिकाले पहिलो चरणमा यसरी असमान दरबन्दी भएका कतिपय विद्यालयका शिक्षकहरूलाई नगरभित्रका शिक्षक नभएका विद्यालयमा पठाउन खोज्दा खेरी शिक्षक संगठन आन्दोलित बने ।

झनै समस्या बल्झिएको विद्यालय स्रोतव्यक्ति प्रेम रेग्मीले बताए । नगरपालिका भित्रका कुनै कुनै विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक बढी भएका विद्यालयबाट पहिलो चरणमा समायोजन गर्न सफल भए दोस्रो चरणबाट थप ब्यवस्थित गर्ने सोचमा नगरपालिका लागे पनि सो प्रक्रियाबाट असन्तुष्ट बनेका शिक्षकहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकाले अहिले नगरपालिकाभित्र झन् अप्ठेरो भइरहेको अधिकारीहरूको भनाइ छ ।

तर, नगरपालिका भित्रका कतिपय विद्यालयका शिक्षकहरू भने अधिकांश सयम विभिन्न कामको बाहानामा बजारक्षेत्रतिरै देखिने र विद्यालय नजाने गरेकासमेत गुनासो अभिभावकले गरेका छन् ।

प्रतिक्रिया