उत्कृष्ट विद्यार्थी निजीतर्फ आकर्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले सरकारी सेवाभन्दा निजी क्षेत्रप्रति आकर्षण देखाएका छन् ।
त्रिविको ४४औँ दीक्षान्त समारोहमा सर्वोत्कृष्ट अंक ल्याएर विभिन्न पदक र पुरस्कार पाएकाले निजी क्षेत्रप्रति आकर्षण देखाएका हुन् । उनीहरूले सरकारी सेवा सीमित हुने भन्दै निजी क्षेत्रमा नै आफ्नो भविष्य देखेका छन् ।

समारोहमा ‘लोकराज ज्ञवाली स्वर्ण पदक’ प्राप्त गर्नु भएका प्रभा त्रिपाठीले सरकारी सेवाभन्दा निजी क्षेत्रमा सेवा गर्ने बताए । नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक तह (बीएएलएलबी)मा सर्वोत्कृष्ट अंक ल्याएका त्रिपाठीले सरकारी सेवामा कामप्रति उत्प्ररेणा नजगाउने भएकाले निजी क्षेत्र आफ्नो रोजाइ भएको बताए ।

उनले अहिले आफै साथीहरूसँग मिलेर ‘चिन्तन ल एसोसियट फर्म’ सञ्चालन गरेर वकालत गरिरहेका छन् । ‘सरकारी जागिरमा सेवा गर्ने भावना मात्र हुन्छ, अहिले म सरकारी जागिरमा गएँ भने मैले रचनात्मक कार्य गर्न सक्दिनँ’, उनले भने, ‘त्यसैले अहिलेको उमेर केही नयाँ गर्ने समय भएकाले आफ्नै फर्म सञ्चालन गरेको हुँ ।’ त्रिपाठीले बिएएलएलबीमा ७५ दशमलव ८३ प्रतिशत अंक ल्याएका छन् ।

समारोहमा ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’ पाएका स्कुल अफ म्यानेजमेन्ट कीर्तिपुरकी अल्काश्री श्रेष्ठले पनि निजी क्षेत्र नै आफ्नो पहिलो प्राथमिकता भएको बताइन् । अहिले नबिल बैंकमा कार्यरत रहेकी श्रेष्ठले सरकारी सेवामा भन्दा निजी क्षेत्रमा अवसर बढी हुने गरेकाले आफ्नो रोजाई निजी क्षेत्र भएको धारणा व्यक्त गरिन् ।

‘म आफैँ पनि धेरै काम गर्न सक्छु, निजी क्षेत्रमा जति पनि काम गर्न सकिन्छ, तर सरकारी सेवामा निश्चित काम तोकिएको हुन्छ’, उनले भने, ‘त्यसैले सीमित कामभन्दा धेरै काम गर्नका लागि निजी क्षेत्र रोजेको हुँ ।’ श्रेष्ठले व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबिए)मा ३ दशमलव ९४ सिजिपीए अंक ल्याएकी छन् ।

यसैगरी, ‘भ्वाइथ सत्य माँ स्मृति स्वर्ण पुरस्कार’ प्राप्त गरेका भएका शंकरदेव क्याम्पसका राजेश पनेरुले पनि सरकारी स्थायी जागिरभन्दा निजी क्षेत्रको जागिर मनपर्ने बताए । निजी क्षेत्रमा आफ्नो ज्ञानको अनुभवअनुसार काम गर्न पाइने भएकाले आफूले निजी क्षेत्र रोजेको उनको भनाइ छ । अहिले उनी उद्यमीसँग मिलेर विभिन्न अनुसन्धानात्मक कार्य गरिरहेका छन् । पनेरुले व्यवस्थापन संकाय, व्यापार प्रशासन (बिबिए) स्नातक तहमा ३ दशमलव ९५ सिजिपीए अंक ल्याएका छन् ।

यस्तै, समारोहमा ‘ललित चन्द पदक’ र ‘बडाकाजी मरिचमान सिंह पदक’ पाएका निर्देशक सिलवाल पनि सरकारी सेवाभन्दा समाज परिवर्तन पेशा रोजेको बताउँछन् ।

साझा विवेकशील नेपाल पार्टीका विदेश विभाग सदस्यसमेत रहेका उनले सानैदेखि नै सरकारी सेवाप्रति रुचि नभएकाले समाज परिवर्तनका लागि राजनीतिक गर्न थालेको बताए । सिलवालले त्रिवि केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तहमा राजनीतिक शास्त्रमा ३ दशमलव ८६ सिजिपीए अंक ल्याएका छन् ।

यस्तै, ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्ण’ र ‘रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार’ पाएका दुर्गा अग्रवालले सरकारी सेवामा रुचि भएको बताए । सरकारी सेवामा पछिका लागि राम्रो भएकाले रुचि भएको धारणा व्यक्त गरे । दमक बहुमुखी क्याम्पस, झापाबाट स्नातकोत्तर तहमा एमबिएसमा ७५ प्रतिशत अंक ल्याएका उनले बैंकिङ क्षेत्र रोजाइ भएको बताए ।

समारोहमा विभिन्न संकायमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई ‘त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक’, ‘इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक’, ‘चान्सलर पदक’, ‘त्रिवि प्राध्यापक संघ स्वर्ण पदक’लगायत ३१ वटा पदक तथा पुरस्कार वितरण गरिएको थियो । समारोहमा विभिन्न संकायमा विद्यावारिधि गर्ने ६७ जनालाई विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो ।

‘विश्वविद्यालयलाई जिवनको पाठशाला बनाऔँ’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला नबनाई जीवनको पाठशाला बनाउनुपर्ने बताएका छन् ।

विश्वविद्यालय केवल पढ्ने मात्र नभई अनुभूत गर्ने, व्यवहार गर्ने र अपनाउने शिक्षातिर जानुपर्ने बताए । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘पढेलेखेको र कुनै तहमा उत्तीर्ण भएको व्यक्ति पनि जीवनको आधारभूत परीक्षामा अनुत्तीर्ण भएको र जीवन दुःखदायी भएको आज हामी देख्न सक्छौँ । कुनै विषयमा शिक्षा आर्जन गरेको व्यक्ति परिवार र समाजका लागि उदाहरणीय र अनुकरणीय हुन सकोस भन्नेतिर विश्वविद्यालयको ध्यान जानुपर्छ ।’

समाज लाभान्वित र समाजको सकारात्मक दृष्टान्त बन्न सक्ने विद्यार्थी विश्वविद्यालयले उत्पादन गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले ती विद्यार्थीले विवेकको बाटाबाट समाजलाई आधुनिकताको नयाँ दिशामा डो¥याउन सक्ने बताए । आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच सीमित नहुने भन्दै उनले सबैको शिक्षामा पहुँच पु¥याउनका लागि असमानता हटाई समातामूलक र सबै वर्ग समुदायका निम्ति उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताए ।

देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न, कला, संस्कृति, र परम्पराको संरक्षण गर्न एवं ज्ञान, विज्ञान तथा प्रविधिका क्षेत्रमा सामयिक अध्ययन–अनुसन्धान गर्न त्रिविले खेलेको भूमिको प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

प्रतिक्रिया