उखुको मूल्य तोक्न किन ढिलाइ ?

उखु काटेर नयाँ बाली लगाउने वेला घर्किसक्दा पनि न्यूनतम मूल्य नतोकिँदा किसान निराश र चिन्तित बन्न थालेका छन् । सरकारले समयमा उखुको मूल्य नतोक्दा किसानले उखु काट्न पाएका छैनन् । जसका कारण उखु त नाश हुने नै भयो, नयाँ बालीसमेत लाउन नपाउने चिन्ताले पिरोलिएका छन् किसान । उखु काट्न ढिलाइ हुँदा खेतमा नै उखु फूल्न थालेको छ । उखु फूलेपछि तौल कम हुने भएकोले किसान चिन्तित भएका छन् । सरकारले गत वर्ष प्रतिक्विन्टल ५ सय ३१ रुपैयाँ उखुको मूल्य तोकेको थियो । मूल्य नतोकिदिएपछि किसानसँग व्यापारीले निकै सस्तो मूल्यमा उखु किन्ने प्रस्ताव राख्न थालेका छन् । किसानहरूले उखु काट्न जति धेरै ढिलाइ हुन्छ त्यति नै धेरै घाटा लाग्छ । मंसिर अन्तिमबाट उखु काट्न सुरु गर्नुपर्ने हो तर पुस महिना आधा बितिसक्दा पनि सरकारले मूल्य नतोक्दा उखु काट्न सुरु गर्न नसकेको गुनासो पोखेका छन् ।

हुन त यो यस वर्षको कुरा मात्र होइन् । हरेक वर्ष उखु काटने वेलामा मूल्यको यस्तै झमेला हुने गरेको छ । चिनी मिल मालिक सस्तोमा उखु किन्न चाहन्छ, किसान महंगोमा बेच्न चाहन्छन् । यही कारण मिल सञ्चालन हुने समयमा जहिले झमेला हुने गरेको छ । वर्षौदेखि यस्तो हुँदै आएको छ । सामान्यतयाः उखु दुई वर्षको बाली हो । एकपटक रोपेपछि अर्को वर्ष त्यसैको ठुटा पलाएर आउ“छ र त्यसैलाई गोडमेल गरेर सपारिन्छ । पहिलो वर्षको बालीलाई मुडहन र दोश्रो वर्षको बालीलाई खुट्टी भन्ने चलन छ । काट्दा पहिले खुट्टी र मुडहन पछि काट्ने गरिन्छ । खुट्टी उखु कात्तिकदेखि पुसको दोश्रो साताभित्र काट्दा राम्रो मानिन्छ । पुसको दोश्रो सातापछि खुट्टी उखु फुल्न थाल्छ । फूलेको उखुको तौल कम हु“दै जान्छ । त्यसैले किसान हतारिन्छन्, मिल मालिकलाई पनि किसानको यो समस्या थाहा हुने भएकाले उनीहरू किसानसँग सुरुमा संवाद नै गर्न चाहँदैनन् । पछि किसान थाक्न थालेपछि मालिक वार्ता र संवादको लागि तयार त हुन्छ । तर, अडानमै रहने गरेको छ । उखुको यही झमेलाका कारण कतिपय किसान उखु खेतीबाट विरक्तिएर अन्य खेती गर्न थालेका छन् भने कतिपय आफैँ उखु पेलेर सख्खर बनाउने गर्दछन् ।

नेपालका तराई क्षेत्रमा आधा दर्जनजति ठूला चिनी मिल सञ्चालनमा छन् । पर्सादेखि मोरङसम्मको समथर भूभागमा उखु खेती गरि“दै आएको छ । किसानले उखुको उचित मूल्य पाउन धौधौ रहेको छ भने उपभोक्ताले महंगोमा चिनी किनिरहेका छन् । बीचकाले सबै नाफा कुम्ल्याएर सधैं नाफा हुनै नसकेकाले ऋण तिर्न नसकिएको बताउँदै आएका छन् । उता भारतबाट करौडौं मूल्यका चिनी आयात गरिरहनु परेको छ । यसले व्यपार घाटा बढाएको छ । सरकारले उखुको मूल्य त तोक्ने गरेको छ, तर धेरैपछि मात्र । समयमै उखुको मूल्य तोकिने र चिनीको मूल्य पनि तोकेर नेपालमा उत्पादित चिनी स्वदेशमा खपत नहुने भएपछि मात्र विदेश निर्यात गर्न पाउने व्यवस्था हुने हो भने कमसेकम चिनीमा देश आत्मनिर्भर हुन सक्नेछ । दुई तिहाइको कम्युनिस्ट सरकारले किसानको हितका लागि उखुको मूल्य तोक्न ढिला भइसकेको छ । उखुको मूल्य मात्र होइन चिनीको मूल्य पनि तोकेर विदेशी आयातमा कडाइ गर्ने हो भने देशको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

प्रतिक्रिया