किन एक ढिक्का हुन सकेन कांग्रेस ?

जनताले आफूलाई प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट दिएको यर्थाथतालाई नेपाली कांग्रेसले अझै पनि आत्मसात गर्न नसकेको हो कि जस्तो देखिएको छ । नेपाली कांग्रेस कम्तिमा पाँच वर्षका लागि सत्ताबाट बाहिरिएको १० महिना बितिसकेको छ । १० महिना भनेको छोटो अवधि होइन तर यो अवधिसम्म पनि नेपाली कांग्रेसमा सत्तामा रह“दाको धङ्धङी बाँकी नै छ । सत्तारूढ पार्टीको मुख्य चरित्र हुन्छ नेताहरूबीच खुट्टा तानातान । अर्थात् सत्ताको उन्माद तथा प्रतिस्पर्धामा एक नेताले अर्को नेतालाई खुइल्याउने, समाप्त पार्ने खेल सत्तारूढ पार्टीमा हुन्छ । १० महिना अघिसम्म नेपाली कांग्रेस त्यो खेलबाट गुज्रिनुलाई स्वभाविक मान्थ्यिो । तर, अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ । नेपाली कांग्रेसका लागि सत्ता अझै धेरै टाढा छ । कम्तीमा पनि चार वर्ष त पर्खनै पर्ने हुन्छ । यो चार वर्ष पनि पर्खेर मात्रै हु“दैन । जनताको मन जित्ने प्रयत्न गर्नुपर्छ । पार्टी संगठनलाई चुस्त र धारिलो बनाउनुपर्ने हुन्छ । तर, जनताका मन जित्ने र पार्टी संगठनलाई धारिलो बनाउने प्रयत्नमा कांग्रेसका नेताहरू अझै देखिएका छैनन् । अझै पनि एक नेताले अर्को नेतालाई खुइल्याउने मात्रै होइन राजनीतिक जीवन नै समाप्त पारिदिने खेलमै नेपाली कांग्रेसको आन्तरिक राजनीति अल्झेको छ ।

प्रभावकारी प्रतिपक्षको पहिलो शर्त हो, ‘पार्टीलाई एक ढिक्का बनाउनु ।’ एक ढिक्का भएको पार्टीले मात्रै सत्ताबाट हुने षड्यन्त्रलाई परास्त गर्न सक्छ । सत्ता स्वभाविक रूपमा निरंकुश हुन्छ । आफ्ना विरोधीहरूलाई ठेगान लगाउने संयन्त्र तथा साधनस्रोत सरकारसँग हुन्छ । सत्ताको यस्तो चरित्रसँग जुध्ने भनेको प्रतिपक्षी पार्टीले नै हो । प्रतिपक्षी पार्टीबाहेक अरूसँग यस्तो सामथ्र्य हुँदैन । जब प्रतिपक्षी पार्टीभित्र नै आन्तरिक खिचातानी जारी रहन्छ तब सत्ताले त्यसै भित्र खेल्न थाल्छ । फलस्वरूप प्रतिपक्षीको भूमिका भुत्ते हुन्छ । यतिवेला नेपाली कांग्रेसको भूमिका किन भुत्ते तरबारजस्तो भएको हो ? भन्ने प्रश्न नागरिक समाजबाट उठ्ने गरेको छ । यो प्रश्नको सिधा उत्तर हो, ‘नेपाली कांग्रेसभित्र आन्तरिक शक्ति संघर्ष जारी छ, यही शक्ति संघर्षमा सत्ताले खेलिरहेको छ । उदाहरणका लागि केही समय अघिसम्म रामचन्द्र पौडेलका सम्धी युवराज भुसाललाई प्रधानमन्त्री केपी ओलीले च्यापिरहेको र भुसालका ज्वाइँ तथा पौडेलका छोरा चिन्तनले ओलीको खर्चमै सभापति शेरबहादुर देउवाविरुद्ध गतिविधि गरिरहेको चर्चा कांग्रेस वृत्तमा चल्ने गथ्र्यो । यो प्रकरणलाई सभापति देउवा पक्षले खुब भजाएको थियो । यतिवेला ओली सरकारले देउवाको पालामा नियुक्त भएका सबैजसो राजदूतलाई फिर्ता बोलायो तर देउवाकी सासु प्रतिभा राणा र देउवाको रुद्रघण्टी लिएर बसेका विश्म्भर प्याकुरेललाई फिर्ता बोलाएन । यो संयोग मात्रै हुन सक्छ, तर कांग्रेसभित्र भने सभापति देउवाले भित्र भित्रै ओलीसँग साँठगाँठ गरिरहेका पो छन् कि ? भन्ने शंका उत्पन्न गराएको छ । जब पार्टी एक ढिक्का हुँदैन र पार्टीभित्र एकले अर्कालाई समाप्त पार्ने खेल जारी रहन्छ तबसम्म यस्ता आशंका उब्जिरहन्छन् । यही आशंकाको भुमरीमा पार्टीको सामथ्र्य भुत्ते हुँदै जान्छ ।

पार्टीलाई एक ढिक्का बनाउनका लागि दुई वटा मात्रै विकल्प हुन्छन् । पहिलो विकल्प हो, ‘अल्पमत पक्षले आत्मासर्मपण गर्नु ।’ दोस्रो विकल्प हो, ‘संस्थापन पक्षले अल्पमत पक्षलाई हैसियतका आधारमा भूमिका दिनु ।’ तर, नेपाली कांग्रेसमा यी दुवै विकल्प कार्यान्वयनमा छैनन् । अल्पमत पक्षले आत्मसर्मपण गर्ने सम्भावना छैन । अल्पमत पक्षलाई अझै भूमिकाहिन बनाउने अभियानमा संस्थापन पक्ष छ । उदाहरणका लागि सभापति देउवाले वर्तमान कार्यसमितिमा २१ जना मनोनित गरे । जसमा ५ प्रतिशत मतको हैसियत भएका कृष्णप्रसाद सिटौला पक्षबाट ४ जना परे । ४४ प्रतिशत मतको हैसियत भएका रामचन्द्र पौडेल पक्षबाट २ जना परे । ती दुईमध्ये पनि पौडेल त सभापति पदमै देउवाका निकटतम् प्रतिस्पर्धी हुन् । अल्पमत पक्षलाई यसरी भित्तैसम्म पुग्ने गरी पेलेर पार्टीलाई एक ढिक्का बनाउने कल्पना गर्नु भनेको मेवाको रुखमा चढेर आँप टिप्न खोज्नु जस्तै हो । महासमितिको बैठकसमेत व्यवस्थित रूपमा सम्पन्न गर्न नसक्ने कांग्रेसले प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्न सक्ला ? भन्ने प्रश्न उठ्दै गर्दा कांग्रेसका नेताहरूले मिडियाकर्मी तथा लेखकहरूलाई बोलाएर अन्तक्रिया सुरु गरेका छन् । तर, अन्तरक्रियाका लागि सहभागी छनोटका क्रममा समेत गुट उपगुटको दुर्घन्ध नाकै थुन्नुपर्ने गरी फैलिइरहेको छ । प्रतिपक्षमा रहँदासमेत छाति फराकिलो बनाउन नसक्ने कांग्रेसले भावी दिनमा जनताको मत कसरी जित्न सक्ला भन्ने प्रश्न स्वभाविक रूपमा उब्जेका छन् ।

प्रतिक्रिया