प्रतिवेदन पारित गर्न अस्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने विषयमा स्थायी कमिटी सदस्यले आपत्ति जनाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा आफूहरूले उठाएका सुझाव के हुने भन्नेमा जवाफ खोजेका हुन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिएका थिए । दुई घण्टाभन्दा बढी बैठकमा धारणा राखेपछि उनले प्रतिवेदन पारितका लागि प्रस्ताव गरेका थिए ।

प्रस्ताव पेस गर्नेबित्तिकै सदस्यहरू बामदेव गौतम, भीम रावल, धनश्याम भुषाल लगायतले आफूहरूले उठाएका विषय के हुने भन्दै प्रश्न राखेको नेताहरूले बताएका छन् ।

उनीहरूले आफ्ना सुझाव नसमेटे फरक मत राख्ने बताएपछि अध्यक्ष प्रचण्डले बैठक शुक्रबार बिहानसम्मका लागि स्थगित गरे । अध्यक्ष ओलीले पार्टीमा एकताको सन्देश दिनुपर्ने र विरोधीहरूको अपेक्षालाई असफल बनाउनुपर्नेमा जोड दिएका छन् । आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष भइरहेको र अब प्राप्त गर्नुपर्ने केही नरहेको तथा नियतवश कुनै गल्ती नगरेको स्पष्टीकरण दिएका छन् ।

०५१ सालमा गृहमन्त्री हुँदा पनि आफ्नो कामको जनताले प्रशंसा गरेको र पहिलोपटक प्रधानमन्त्री हुँदा पनि जनताबाट वाहवाही पाएको उनले सुनाएका छन् । ‘अहिले पार्टीमा आलोचना भएको छ तर, जनतामा वाहवाही नै छ’, उनले भनेका छन् ।

अध्यक्ष ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा आफूलाई हटाउन कोको लागेका थिए भन्ने पनि जानकार रहेको बताए । सरकारका मन्त्रीहरूले भ्रष्टाचार, अनियमितता नगरेको, बरु प्रधानमन्त्री तहबाट भ्रष्टाचारविरुद्ध स्टिङ अपरेशन चलाइएको दाबी गरेका छन् ।

राम्रोसँग कामको बिफ्रिङ नगर्नु र प्रतिवाद गर्न नसक्नु भने मन्त्रीहरूको कमजोरी भएको उनको भनाइ छ । वाइड बड़ी खरिद प्रक्रियामा भएको अनियमितताबारे जाँचबुझ गर्न छानबिन टोली बनाउने प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा बताएका थिए ।

पार्टीको एकीकरणका विषयमा कुरा गर्दै ओलीले पुस महिनाभित्र एकीकरण सक्न कार्यदल बनाउने प्रस्ताव गरेका छन् । बिहीबारको बैठकमा अध्यक्ष ओलीले पार्टी एकीकरण ढिलो भए पनि पुसभित्र एकीकरण सक्न प्रस्ताव गरेका हुन् ।

यसका साथै सरकार र पार्टीका सम्बन्धमा आएका गुनासा सम्बोधन गर्ने बताएका छन् । अध्यक्ष ओलीले पार्टी र सरकारले सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई कुनै पनि हालतमा नछोड्ने र त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताएका थिए ।

आफ्ना भनाइ राखेपछि राजनीतिक प्रतिवेदनको बचाउ गर्दै जस्ताको तस्तै पारित गर्न प्रस्ताव गरेका थिए । ‘पहिले पनि यस्तै प्रतिवेदन आउँथे’ भन्दै ओलीले बैठकमा भनेका थिए, ‘यो प्रतिवेदनमा पनि सबै कुरा समेटेर ल्याइएको छ, त्यसैले पारित गरौँ ।’ ओलीले यस्तो प्रस्ताव राखेपछि स्थायी समिति सदस्य घनश्याम भुषालले त्यसको प्रतिवाद गरे ।

‘बैठकमा व्यक्त विचार कहाँ कसरी समावेश गरिन्छ भन्ने थाहै छैन, कसरी हामीले पारित गर्ने ?’ भुषालको प्रश्न थियो । अर्का नेता भीम रावलले पनि त्यस्तै प्रश्न गरे । ‘हामीले राखेका कुरा प्रतिवेदनमा कति समावेश हुन्छन्, कसरी हुन्छन् जवाफ चाहियो’ रावलले भने, ‘हाम्रा कुरा सम्बोधन नहुने हो भने फरक मतको रूपमा तल लगिन्छ ।’

त्यसपछि बोलेका वामदेव गौतमले ओलीको मन्तव्यप्रति मतभेद जनाए । ‘जनताको जनवाद लेखिएको यस्तो प्रतिवेदन पारित हुन सक्दैन’ गौतमले भने, ‘प्रतिवेदनमा आत्मालोचना छैन, यस्तो प्रतिवेदन पारित गर्न सकिन्न ।’ गौतमले बोलेपछि आफूले पनि बोल्न पाउनुपर्ने माग गर्दै अधिकांश स्थायी समितिले हात उठाइरहँदा अध्यक्ष ओलीले पुनः बोल्न खोजेका बेला अध्यक्ष दाहालले हस्तक्षेप गरी शुक्रबार पुनः बैठक बस्ने भन्दै सकाएका थिए ।

प्रतिक्रिया