निरन्तर सीमा अतिक्रमण

भारतले नेपाली सीमा क्षेत्र नजिकै दशगजाको समानान्तर हुने गरी बाँध निर्माण गरिरहेको समाचार हिउँदयाममा अखबारका भित्री पृष्ठमा आउने गर्छन् । बर्खा लाग्नासाथ त्यही बाँधका कारण नेपाली गाउँ तथा खेतहरू डुबानमा परेर हजारौँको बिचल्ली भएका समाचार प्राथमिकताका साथ अखबारका बाहिरी पृष्ठमा आउने गर्दछन् । यो प्रक्रिया वर्षौंदेखि जारी छ । नेपालका हरेक प्रधानमन्त्रीहरू सपथ ग्रहणलगत्तै भारत भ्रमणमा जाने गर्छन् । भारत भ्रमणबाट फर्केपछि आफ्नो उपलब्धिको फर्माइस गर्दै भन्छन्, ‘भारतले दशगजाको समानान्तर हुने गरी बनाएका बाँधका कारण नेपाली भूमी डुवानमा पर्ने गरेको समस्या प्राथमिकताका साथ उठायौँ, अब यस्ता बाँध निर्माण नगर्ने प्रतिबद्धता भारत सरकारले जनाएको छ । ’ यो प्रक्रिया पनि वर्षौंदेखि जारी छ । अघिल्लो भ्रमणमा भएको सहमतिबारे पछिल्लो भ्रमणका क्रममा सोध्ने सुविधा अहिलेसम्म नेपालका प्रधानमन्त्रीहरू पाएका थिएनन् । किनकी नेपालले ९–९ महिनामा प्रधानमन्त्री परिवर्तन हुने नियति बेहोर्दै आएको थियो । तर, गतवर्ष सम्पन्न आम निर्वाचनले ९–९ महिनामा प्रधानमन्त्री परिवर्तन हुने नियतिबाट नेपाललाई केही वर्षका लागि छुटकारा दिएको छ । आफ्नै पार्टीको दुईतिहाइ बहुमतका साथ पाँच वर्षका लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओली पनि सपथ ग्रहणलगत्तै भारत भ्रमणमा गए । भारत भ्रमणका लागि प्रस्थान गर्नुअघि ओलीले भने, ‘अघिल्लोपटक प्रधानमन्त्री हु“दा भारतस“ग जे–जे सहमति भएको थियो त्यो सहमति कार्यान्वनको प्रत्याभूति नभएसम्म नयाँ सहमति हुँदैन ।’ उनले डुबानको समस्या अघिल्लोपटकको भ्रमणका क्रममा पनि उठाएको स्मरण गर्दै भने, ‘यसपटक त्यसको प्रगति लिएर फर्कने छु ।’ भ्रमणपछि उनले डुबानको समस्या सदाका लागि समाधान गरेको मात्रै बताएनन्, रक्सौल काठमाडौं रेलमार्ग भारतले आफ्नै खर्चमा बनाइदिने, कलकत्ताबाट सिधै नेपाली भूमिसम्म पानीजहाज सञ्चालन हुने सहमतिसमेत भएको बताए ।

प्रधानमन्त्री ओलीले भनेझैं भारतले रक्सौल–काठमाडौं रेलमार्गको डिपीआर सुरु गरेको छ वा छैन ? कलकत्ताबाट नेपाली भूमिसम्म पानीजहाज ल्याउने अभियान कहाँ पुगेको छ ? भन्ने प्रश्नको उत्तरप्रति आमनेपाली जनताले खासै चासो राखेका छैनन् । आगामी बर्खामा घरबारविहीन भएर शरण खोज्न जानुपर्ला कि नपर्ला ? भन्ने प्रश्नको उत्तरतर्फ नै मुख्य जनचासो छ । किनकी, आमनेपाली जनताको मुख्य आवश्यकता भनेको रक्सौल–काठमाडौं रेलमार्ग तथा पानी जहाजभन्दा पनि आफ्नो जिउ तथा धनको सुरक्षा हो । तर, प्रधानमन्त्री ओलीको भारत भ्रमणले तराईको डुबान समस्या समाधानका लागि सिन्कोसमेत नभाँचेको पुष्टि बाँके जिल्लाको एउटा समाचारले गरेको छ । प्राप्त समाचारअनुसार भारतले नेपालका अधिकांश गाउँ डुबाउने गरी बाँकेस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक पाँच मिटर अग्लो र ३० मिटर चौडा बाँध निर्माण गरिरहेको छ । विगत चार वर्षदेखि बाँकेको हिरमिनियास्थित दशगजा क्षेत्रमा निर्माण सुरु गरिएको उक्त बाँधलाई २० दिनयता पुनः युद्धस्तरमा निरन्तरता दिइएको छ । दुई देशीय सिमाना छुट्याउने जमुनाहा र पिप्रहवाको दशगजा क्षेत्रभित्र रहेका पिलरकै छेउमा यतिवेला बाँध निर्माणको काम धमाधम भइरहेको छ । भारतले उक्त बाँध बाँँके जिल्लाको पूर्वीक्षेत्र नरैनापुरदेखि पश्चिम राधापुरसम्म विस्तार गरिसकेको छ । आगामी बर्खा सिजन बा“केको दक्षिणी क्षेत्रका करिब सयवटा गाउ“का लागि महाकाल बन्ने निश्चित जस्तो देखिएको स्थानीय वासिन्दाले जनाएका छन् ।

अन्तर्राष्ट्रिय नियमअनुसार सीमास्थित दशगजा क्षेत्रमा असर पुग्ने खालको संरचना निर्माण गर्नुपरे दुई देशबीच सहमति हुनुपर्छ । तर, भारतीय पक्षले भने नेपालसँग सहमति नलिई एकतर्फी रूपमा बाँध निर्माण गरिरहुनु र सरकारले कानमा तेल हालेर बसिरहनु विडम्बना हो । आफ्नो देशको सीमा सुरक्षा गर्नु र विदेशी अतिक्रमणबाट आफ्नो देशका जनतालाई बचाउनु सरकारको मुख्य कर्तव्य हो । रेल र पानीजहाज तपसिलका काम हुन् । तर, नेपाली जनताका ध्यान रेल र पानीजहाजका सपनातिर मोडेर सीमा अतिक्रमण गर्ने रणनीति भारतले निरन्तर जारी राखेको छ । दुई तिहाइ बहुमतको ओली सरकारले पनि भारतको यो रणनीतिलाई साथ दिइरहेको देखिन्छ ।

प्रतिक्रिया