तीर्थलाई भूपि पुरस्कार

कास्की । कवि तीर्थ श्रेष्ठलाई यस वर्षको ‘भूपि काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । आगामी मंगलबार भूपि शेरचनको ८३औँ जन्मजयन्तीको सन्दर्भ पारेर श्रेष्ठलाई पुरस्कार दिन लागिएको आयोजकले जनाएको छ ।

नेपाली कविता क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै कवि श्रेष्ठलाई ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लाले सम्मान गर्न लागेको आयोजक थकाली सेवा समिति पोखराले जानकारी दिएको छ ।

२०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपिसँग संगत समेत गरेका थिए । नेपाली काव्यका क्षेत्रमा कवि श्रेष्ठले महत्वपूर्ण योगदान दिएकाले भूपिको जन्मजयन्ती पारेर सम्मान गर्न लागिएको समितिका अध्यक्ष शिवशंकर गौचनले बताए ।

उनका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन् । श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार, मोति युवा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदकलगायत दर्जनौं पुरस्कार तथा सम्मान पाइसकेका छन् ।

थकाली सेवा समितिका अध्यक्ष शिवशंकर गौचनको संयोकत्वमा दुर्गा बराल, सरुभक्त र प्रकाश ज्ञवाली सदस्य रहेको प्रतिभा छनोट समितिले श्रेष्ठलाई पुरस्कार दिने निर्णय गरेको हो ।

प्रतिक्रिया