लघुकथा – डर

रमेश भट्टराई ‘पुजारी’

पोद्दार बाको कोखबाट एउटी छोरीको मात्र जन्म भएको हो । उनले तिनै छोरीलाई छोरा सम्झेर अर्को छोरा जन्माएनन् ।
उनले कमाएको सम्पत्ति प्रशस्तै थियो । काठमाडौंमा तीन तले घर अलि पर दुई रोपनी जग्गा जोडेका थिए । बैंशमा त उनको जीवन रमाइलोमा नै बित्यो । छोरीलाई हुर्काए अनि पढाए ।

जब छोरी स्नातकोत्तर पढ्दै थिइन् । उनले लभ म्यारिज गरेर एउटा केटो घरमा ल्याइन । बुढाबुढीलाई मन नपरे पनि छोरीले मन पराएर ल्याई हाली भनी त्यस

लाई सहज नै माने । छोरीज्वाइँ बुढाबुढी एकै ठाउँमा बस्न थाले । छोरी काममा जान्थिन तर ज्वाइँ के गर्थे थाहा थिएन ।
पोद्दार बालाई बुढ्यौली लाग्दै गयो ।

उनकी पत्नी उनीभन्दा पाँच वर्ष जेठी थिइन् । पाँच वर्षअगाडि नै पोद्दार बालाई छाडेर गइन् । बालाई पर्नु पिर प¥यो तैपनि उनी प्राकृतिक नियम सम्झेर सम्हालिए ।

एक दिन उनी सरासर मालपोत कार्यालयमा गएर भएभरको घर जग्गा सबै ज्वाइँको नाममा बकसपत्र गरिदिने कुरा गरे ।
‘पछि के कसो हुने हो शेषपछिको बकसपत्र गरिदिनू’ भनी मालपोतका कर्मचारीले आकाशपाताल देखाउँदा पनि बुढाले हालैदेखिको बकसपत्र गर्न जिद्दी लिए ।

‘मलाई ज्वाइँछोरीले राम्रोसँग पालनपोषण गरेका छन् । खानलाउन दिएका छन् । खर्च दिएका छन् यस्ता ज्वाइँ कहाँ पाउनु । यस्ता ज्वाइँ त थोरैले मात्र भेट्न सक्छन् । आखिर भोलि पनि उनीहरूको आज पनि उनीहरूको म अहिले नै बकसपत्र दिएर आनन्दले बस्न चाहन्छु ।’

उनको भनाइमा सबैले विश्वास गरे । उनले सबै श्रीसम्पत्ति ज्वाइँको नाममा दिए । केही दिनपछि पत्ता लाग्यो घरजग्गा उसको नाममा नगरेमा मारिदिन्छु भन्दै दैनिक राति ओछ्यानमा ज्वाइँ’ साबले खुकुरी देखाउँदा रहेछन् ।

प्रतिक्रिया