कविता – सुँगुरको खोर सफा गर्न जानेहरू !

   बलराम तिमल्सिना, सुवर्ण चोक, भक्तपुर

 

सुँगुरको खोर सफा गर्न जानेहरू
वर्षौं खोरबाट ननिस्केपछि,
बाहिर ठूलो हल्लाखल्ला भयो !
सुँगुरको खोर सफा गर्न जानेले
न सुँगुरलाई बाहिर निकाले
बरु, सुँगुरसँगै दोस्ती गरे,
न सुँगुरको खोर सफा गरे
बरु, आफूले पनि त्यहीँ विष्ट्याए !
सुँगुरको खोर सफा गर्न जानेहरू
कालान्तरमा आफैँ सुँगुर भए,
तिनीहरू कहिलै फर्केर आएनन्
जसरी कहिल्यै फर्किंदैनन्
चिहान पसेका
या चिता चढेका मान्छे !
वर्षौंपछि
खोरबाट धमाधम सुँगुरहरू निस्के
तिनीहरू भन्दै थिए,
‘साला मान्छेहरूले,
हगेर बसिसाध्य बनाएनन् हाम्रो खोर !’

प्रतिक्रिया