२० प्रतिशत अग्रिम भुक्तानीमा ‘किया सोल’

काठमाडौं । कन्टीनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजले ११ दशमलव ५ प्रतिशत ब्याजदरमा कियाको इलेक्ट्रीक गाडी ‘शोल’ किन्न सकिने व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले २० प्रतिशत अग्रिम भुक्तानीमा विद्युतीय सवारी साधन खरिद गर्न सक्ने व्यवस्था गरेको थियो ।

कियाले सोही व्यवस्था अनुसार कम ब्याजदर र अग्रिम भुक्तानीमा किया सोल किन्न पाउँने सुविधा ल्याएको हो । यद्यपी, राष्ट्र बैंकले सवारी साधन खरिदको लागि अनिवार्य ५० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था जारी गरेको छ । कियाले अन्य मोडलमा भने यस्तो अफर ल्याएको छैन ।

वातावरण प्रदुषण तथा बढ्दो उत्सर्जनलाई ध्यानमा राख्दै सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढवा दिदै आएको छ । सरकारले ग्यासोलिन सवारी साधनको सट्टा प्रयोगमा आएको विद्युतीय सवारीको सकरात्मक पक्षलाई ध्यानमा राख्दै कर्जामा सहुलियत दिँएको हो । साथै, सरकारले गाडी किनेपछि वार्षिकरूपमा बुझाउनुपर्ने सवारी करसमेत तिर्नु नपर्ने व्यवस्था गरेको छ । सरकारले विद्युतीय सवारी साधनमा वार्षिक सडक मर्मत सम्भार करमा पनि शतप्रतिशत प्रतिशत छुट दिएको छ । यसको सञ्चालन खर्च प्रतिकिलोमिटरमात्र १ रूपैयाँ ६० पैसाको हाराहारीमा पर्छ ।
किया शोललाई एकपटक फूलचार्ज गरेपछि २१२ किलोमिटरसम्म आरामले चलाउँन सकिनेछ ।

यसमा अत्याधुनिक प्रविधिको २७ किलोवाट आवर क्षमताको लिथियम आयन पोलिमर ब्याट्रीको प्रयोग गरिएको छ । कन्टिनेन्टल ट्रेडिंगले लामो यात्रालाई ध्यानमा राख्दै शोल चालकहरूको सुविधाका लागि कुरिनटारको रिभरसाइड रिसोर्टमा फास्ट–डीसी चार्जिङ्ग स्टेसनको ब्यवस्था गरिसकेको छ । साथै, कम्पनीले पोखरा, धुलिखेल, काठमाडौंमा चार्जिङ्ग स्टेशन बनाइसकेको छ भने बर्दिवास, चितवनलयातका स्थानमा चाँडै बनाउने कम्पनीले जनाएको छ । शोललाई साधारण घरायसी प्रयोजनको बिजुलीमा चार्ज गर्दा १० देखि १२ घन्टासम्ममा फूल चार्ज हुनेछ । कम्प्याक एसयूभी किया इलेक्ट्रीक शोलको मूल्य नेपाली बजारमा ५६ लाख रूपैयाँ रहेको छ । पानारोमिक रूफसहितको अप्सनमा उपलब्ध गाडी किन्न चाहनेले ५८ लाख रूपैयाँ तिर्नु पर्नेछ ।

प्रतिक्रिया