अर्थबजार

पुँजी बजार सुधारको माग गर्दै अनशन

सौर्य अनलाइन २०७५ मंसिर २४ गते ८:३१ मा प्रकाशित

काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले पुँजी बजार सुधार तथा विस्तारको माग गर्दै भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्जको कार्यालय अगाडि अनशन सुरु गरेको छ ।

समूहका संयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् । बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ ।

गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पुँजी बजारमा ल्याउनुपर्ने, सेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, सेयर धितो कर्जाको सीमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याउनुपर्ने, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएको छ ।

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पुँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्यविधिलाई सशक्त रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विगतमा नेप्से १ हजार ८ सय ८१ हुँदा २१ खर्बको पुँजी संकलन भएको यो बजारमा हाल नेप्से १ हजार १ सय २० मा पुग्दा १३ खर्ब पुँजी छ ।

प्रतिक्रिया