खोप्रा लेकमा सामुदायिक लज बन्ने

गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ ।

पहाडकी अप्सरा (परी) को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरू खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् ।

गत सोमबार खोप्राको प्रवेशद्वार मानिने पाउद्वार गाउँमा बागवीर पाइजाको अध्यक्षतामा बसेको एक्यापका प्रमुख विदुर कुइँकेल र स्थानीय अगुवाको बैठकले चारवटा नयाँ सामुदायिक लज बनाउने निर्णय गरेको हो । खोप्रामा यसअघि एकवटा मात्र सामुदायिक लज थियो ।

एक्यापका सदस्य तथा खोप्रा सामुदायिक लजका कोषाध्यक्ष भीम पुनका अनुसार बैठकले बयलीमा थप एक, डाँडाखर्कमा एक र आलखर्कमा थप दुइवटा सामुदायिक लज निर्माण गर्ने निर्णय गरेको छ ।

‘सामुदायिक लज थप गर्न स्थानीयवासीको पहिलेदेखि नै माग थियो तर पर्यटकको आगमन कम भएकाले हामीले थप गर्ने अनुमति दिएका थिएनौँ’ एक्यापका सदस्य पुनले भने । खोप्रा लेकमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले एउटा मात्र सामुदायिक लजमा ठाउँ नपाएपछि टेन्ट लगाएर बाहिर बस्नुपरेको गुनासो गरे ।

त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकको गुनासो आउन थालेपछि स्थानीयवासीले आफ्नै लगानीमा थप चारवटा सामुदायिक लज विस्तार गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा खोप्रा बयली, डाँडाखर्कमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

प्रतिक्रिया